Translate

Wednesday, January 28, 2026

पुराना अनुहारबाट मोहभंग, नयाँ विकल्पको खोजीमा सर्लाही–२ का मतदाता


 

मनोज यादव---
सर्लाही,माघ १४

    फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर–२ को राजनीतिक माहोल फेरिएको छ। वर्षौंदेखि परिचित पुराना नेताहरूप्रति बढ्दो असन्तोष र नयाँ अनुहारप्रतिको उत्सुकताले यो क्षेत्र यसपालि फरक बहसको केन्द्रमा पुगेको छ।
     पुराना नेतामाथि प्रश्न
यस क्षेत्रबाट पटक–पटक निर्वाचित भएका महेन्द्र राय यादव र राजेन्द्र महतोप्रति जनतामा गुनासो बढ्दो छ। “पटकपटक उनीहरूलाई जिताएर संसदमा पठायौं,मन्त्री पनि बने तर फर्केर हेर्दा सडक, रोजगारी, शिक्षा,स्वास्थ्यमा ठोस परिवर्तन देखिएन,” स्थानीय मतदाताको साझा भनाइ छ। कतिपयले त “आफू जितेको क्षेत्रको समस्यासमेत संसदमा बलियो ढंगले उठाउन नसकेको” आरोपसमेत लगाउँछन्।
यही कारण, यसपालि ‘पुरानो नेतृत्वले अब के फरक गर्छ?’ भन्ने प्रश्न गाउँ–टोलदेखि चियापसलसम्म गुञ्जिरहेको छ।
     नयाँ पुस्ता, नयाँ बहस
जनताहरुको पुराना नेता प्रति मोहभंग भएसँगै नयाँ उम्मेदवारहरू यतिबेला चर्चामा छन्। रास्वपाका रविन महतो, नेपालका लागि नेपाली पार्टीका कृष्ण सनातनि, र नेपाली काँग्रेसका डा. सरोज कुमारलाई मतदाताले वैकल्पिक नेतृत्वका रूपमा हेर्न थालेका छन्।
रविन महतो (रास्वपा): भ्रष्टाचारविरोधी एजेन्डा, पारदर्शिता र सेवा–मुखी राजनीतिका कुरा गर्दै युवामाझ लोकप्रिय बन्दैछन्। सामाजिक सञ्जाल र घरदैलो अभियानमा उनको सक्रियता देखिन्छ।
कृष्ण सनातनि (नेपालका लागि नेपाली): ‘हिन्दु राष्ट्र’ र सांस्कृतिक पहिचानको मुद्दासँगै सादगीपूर्ण अभियान"एक मुठी चामल र पाँच रुपैयाँ संकलन" ले उनी चर्चाको केन्द्रमा छन्। विचारप्रति सहमति–असहमति भए पनि उनको अभियानले राजनीतिक बहसलाई ताजा बनाएको छ।
डा. सरोज कुमार (नेपाली काँग्रेस): पेशागत दक्षता, नीतिगत स्पष्टता र विकासमुखी योजनाको प्रस्तुति उनका बलिया पक्ष मानिन्छन्। काँग्रेसको संगठनात्मक आधारसँगै ‘कार्य गर्ने क्षमता’लाई उनले प्रमुख एजेन्डा बनाएका छन्।
     किन बढ्यो नयाँप्रतिको आकर्षण?
विश्लेषकहरूका अनुसार तीन कारण प्रमुख छन्।
पहिलो, विकासको ठोस अनुभूति नहुनु। दोस्रो, जवाफदेहिताको कमी। तेस्रो, नयाँ पुस्ताको राजनीतिक चेतना।
स्थानीय युवा भन्छन्, “यसपालि परीक्षण हो।नयाँलाई अवसर नदिएसम्म परिवर्तन कसरी हुन्छ?”
     चुनावी समीकरण
यस क्षेत्रको चुनावी नतिजा यसपालि ‘परम्परागत जित–हार’ भन्दा बाहिर जान सक्ने संकेत देखिन्छ। पुराना नेताहरूको संगठनात्मक अनुभव र पहिचान एकातिर छ भने नयाँ उम्मेदवारहरूको ऊर्जा, नवीन एजेन्डा र जनअपेक्षा अर्कोतिर। कसले मतदाताको विश्वास जित्छ, त्यो फाल्गुन २१ ले तय गर्नेछ।
  सर्लाही–२ मा देखिएको यो बहस केवल उम्मेदवारको परिवर्तन होइन, राजनीतिक संस्कार परिवर्तनको माग पनि हो। पुराना नेताहरूले आत्मसमीक्षा गर्ने कि मतदाताले नयाँलाई अवसर दिने ,यसको उत्तर अब मतपेटिकामा बन्द हुँदैछ।
यसपालि सर्लाही–२ ले कुन बाटो रोज्छ, त्यसले जिल्लामात्र होइन, मधेशको राजनीतिक दिशालाई समेत संकेत गर्नेछ।

No comments:

Post a Comment