हिन्दु राष्ट्रको एजेन्डासहित कृष्णा सनातनी सर्लाही–२ को चुनावी मैदानमा "एक मुठी चामल र पाँच रुपैयाँ" माग्दै घरदैलो अभियान
मधेशदूत समाचारदाता----
सर्लाही, माघ १४
हिन्दु राष्ट्र नेपाल पुनःस्थापनाको एजेन्डासहित सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका कृष्णा सनातनीले घरदैलो अभियान सुरु गरेका छन् । उनले एक मुठी चामल र पाँच रुपैयाँ संकलन गर्दै मतदाताको घर–घर पुगेर आफ्नो राजनीतिक उद्देश्य र चुनावी प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् ।
मलंगवा नगरपालिका वडा नं. ६, खुटौना निवासी कृष्णा सनातनीले फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि "नेपालका लागि नेपाली पार्टी"को "शंख" चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले “जय सनातन धर्म, जय हिन्दु राष्ट्र नेपाल, राजा ल्याउ देश बचाऊ” भन्ने नारा अगाडि सार्दै चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
उम्मेदवार सनातनीका अनुसार उनको मुख्य उद्देश्य नेपाललाई पुनः हिन्दु अधिराज्यका रूपमा स्थापना गर्नु हो । उनले हिन्दु धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई आफ्नो राजनीतिक यात्राको केन्द्रमा राखेको बताएका छन् ।
उनले सार्वजनिक गरेका प्रमुख एजेन्डामा हिन्दु अधिराज्य नेपाल पुनःस्थापना, प्रत्येक मठ–मन्दिरलाई सरकारी प्रत्यक्ष नियन्त्रणबाट बाहिर राख्दै हिन्दु ट्रस्टको स्थापना, पुजारीहरूलाई मासिक तलबको व्यवस्था, जातीय छुवाछूतमुक्त हिन्दु समाज निर्माण, धर्मान्तरण विरुद्ध कडा कानुन निर्माण र प्रभावकारी कार्यान्वयन रहेका छन् ।
यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन, प्रत्येक पालिकामा माध्यमिक तहसम्म गुरुकुल शिक्षा र गौशाला स्थापना, कृषकलाई समयमै बीउ–विजन र मलखाद उपलब्ध गराउने तथा सिँचाइका लागि निःशुल्क बिजुलीको व्यवस्था गर्ने एजेन्डा पनि उनले अघि सारेका छन् ।
उनको घोषणापत्रमा प्रत्येक घरपरिवारलाई १०० युनिटसम्म निःशुल्क बिजुली, सरकारी विद्यालयमा अंग्रेजी माध्यमसहित नैतिक शिक्षाको अनिवार्य व्यवस्था, युवा–युवतीलाई रोजगारीको सुनिश्चितता, प्रत्येक पालिकामा ICU र NICU सेवा तथा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख छ ।
त्यसैगरी मुस्लिम आयोग खारेज गरी हिन्दु, बौद्ध र किराँत आयोग स्थापना, विदेशी (रोहिंग्या मुस्लिम) घुसपैठमा पूर्ण प्रतिबन्ध, डिटेन्सन सेन्टर स्थापना, मदरसा शिक्षामा प्रतिबन्ध, जनसंख्या नियन्त्रणका लागि कडा कानुन, प्रत्येक टोलमा पार्क र प्रत्येक गाउँमा शवदाह/श्मशान घाट निर्माण तथा चारधाम तीर्थयात्रा निःशुल्क गराउने एजेन्डा पनि उनको चुनावी प्रतिबद्धतामा समेटिएका छन् ।
घरदैलो अभियानका क्रममा सनातनीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफूलाई समर्थन गर्न आग्रह गरिरहेका छन् । सर्लाही क्षेत्र नं. २ मा उनको उम्मेदवारीले निर्वाचनको माहोल थप चासोपूर्ण बनेको छ ।
No comments:
Post a Comment