Translate

Monday, January 26, 2026

मलंगवामा दादुरा नियन्त्रणका लागि सरोकारवालाबिच समन्वय बैठक

 


मधेशदूत समाचारदाता---
सर्लाही,माघ १३

   सर्लाहीको सदरमुकाम मलंगवामा दादुराको सम्भावित महामारी रोकथामका लागि सरोकारवाला निकायबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ।
  उक्त बैठक  मलंगवा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष चन्देश्वर रायको अध्यक्षता तथा मलंगवा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहको प्रमुख अतिथ्यतामा सोमबार वडा न-९ स्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।
   बैठकमा पूर्व प्राधानाध्यापक अमर कान्त झा, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष बन्दना झा, विश्व स्वास्थ्य संगठन (WHO) का डा. नितेश मिश्र, मलंगवा नगर संरक्षण समिति अध्यक्ष चन्दन सिंह, चिकित्सकहरू डा. सुरेन्द्र यादव, डा. प्रभाष तथा स्थानीयवासी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
   कार्यक्रममा WHO का डा. मिश्रले दादुरा रोगको अवस्था, यसको संक्रमण फैलिने तरिका, जोखिम समूह तथा खोपमार्फत नियन्त्रण गर्न सकिने उपायबारे जानकारी दिएका थिए । उनले दादुरा रोग समयमै नियन्त्रण नगरे गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले सामूहिक प्रयास आवश्यक रहेको बताए ।
   प्रमुख अतिथि  साहले दादुरा नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समुदायस्तरमा जनचेतना अभिवृद्धि, विद्यालय केन्द्रित कार्यक्रम र प्रभावकारी खोप अभियान सञ्चालन गरिने जानकारी दिए ।
   बैठकले दादुरा नियन्त्रणका लागि सबै सरोकारवालाबीच सहकार्य र सूचनाको प्रवाहलाई सशक्त बनाउनु पर्ने निष्कर्ष निकालेको छ।


No comments:

Post a Comment