दादुरा फैलिँदै गएपछि मलंगवामा आपतकालीन खोप अभियान ६ वडाका ८ हजार बालबालिकालाई लक्षित, विद्यालय–मदरसामै खोप
मधेशदूत समाचारदाता---
सर्लाही, माघ १३
सर्लाहीको सदरमुकाम मलंगवामा दादुरा रोगको सङ्क्रमण फैलिन थालेपछि नगरपालिकाका ६ वटा वडामा आपतकालीन खोप अभियान सुरु गरिएको छ । मलंगवा नगरपालिका–३ को मुस्लिम बस्तीमा दादुरा फैलिएको पुष्टि भएपछि जोखिम न्यूनीकरणका लागि विशेष खोप कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
सोमबार बिहानदेखि वडा नं. २, ३, ४, ८, ९ र १० मा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन थालिएको मलंगवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । वडा नं. ३ मा २३ जनामा दादुराको लक्षण देखिएको छ भने प्रयोगशाला परीक्षणबाट ७ जनामा दादुरा पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल किशोर झाका अनुसार अन्य १६ जनामा पनि दादुराकै लक्षण देखिएकाले समयमै हस्तक्षेप आवश्यक भएको हो । “दादुरा अत्यन्तै सङ्क्रामक रोग भएकाले नियन्त्रणमा लापरवाही गर्न हुँदैन,” उनले बताए ।
विश्व स्वास्थ्य सङ्गठन (WHO), यूनिसेफ, मधेश प्रदेश जनस्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय सर्लाही र मलंगवा नगरपालिकाको समन्वयमा माघ १६ गतेसम्म अभियान सञ्चालन गरिनेछ । यस अवधिमा करिब ८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
नगरपालिकाका स्वास्थ्यकर्मीहरूले प्रभावित वडाका विद्यालय र मदरसामा पुगेर खोप लगाइरहेका छन् । स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहका अनुसार यसअघि दादुरा–रुबेलाविरुद्ध खोप लगाइसकेका बालबालिकालाई पनि थप सुरक्षा (इम्युनिटी)का लागि विशेष खोप दिइँदैछ ।
चिकित्सकहरूका अनुसार दादुरा श्वासप्रश्वासको माध्यमबाट सजिलै सर्ने रोग हो । उच्च ज्वरो, खोकी, नाकबाट पानी बग्ने, आँखा रातो हुने र केही दिनपछि शरीरभरि खटिरा आउनु यसको प्रमुख लक्षण हुन् । एक जना सङ्क्रमित व्यक्तिबाट १२ देखि १८ जनासम्ममा रोग सर्न सक्ने भएकाले खोप नै प्रभावकारी बचाउको उपाय रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
विशेष खोप अभियानको सोमबार बिहान निरीक्षण गर्दै मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री जंगिलाल रायले कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । उनले अभिभावकलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेका छन् ।
No comments:
Post a Comment