सर्लाही–४ : प्रतिष्ठा, प्रतिस्पर्धा र निर्णयको मैदान कसले बाजि मार्ला ?
मनोज यादव---
सर्लाही, माघ १२
फागुन २१ नजिकिँदै जाँदा सर्लाही जिल्लाको क्षेत्र नं. ४ फेरि एकपटक राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको छ । टोल–टोलमा चुनावी गफ बढेको छ, चिया पसलमा उम्मेदवारको चर्चा चलिरहेको छ र मतदाताहरू “यसपटक कसले जित्ला ?” भन्ने प्रश्नमा अलमलिन थालेका छन् ।
यस निर्वाचन क्षेत्रको चासो एकाएक बढ्नुको मुख्य कारण हो नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उम्मेदवारी । कांग्रेसले उहाँलाई भावी प्रधानमन्त्रीको दावेदारका रूपमा अघि सारेपछि सर्लाही–४ को चुनाव अब स्थानीय मात्र रहेन, यो राष्ट्रिय प्रतिष्ठासँग जोडिएको प्रतिस्पर्धा बनेको छ ।
सर्लाही–४ कांग्रेसको पुरानो प्रभाव रहेको क्षेत्र मानिन्छ । यही क्षेत्रबाट डा. अमरेशकुमार सिंह लगातार तीन पटक संसद् पुगेका थिए । २०७९ मा भने कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिका कारण उहाँ स्वतन्त्र उम्मेदवार बनेर विजयी हुनुभयो । अहिले सिंह राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा हुनुहुन्छ । यसले यसपटकको चुनावलाई झनै रोचक बनाएको छ ।
स्थानीय मतदाताबीच थापा र सिंह दुवैबारे फरक–फरक धारणा छन् । केहीले “राष्ट्रिय नेतृत्व चाहिन्छ” भन्दै थापालाई उपयुक्त ठानिरहेका छन् भने कतिपयले “हामीलाई चिन्ने, यहाँको समस्या बुझ्ने” भन्दै सिंहप्रति भरोसा देखाइरहेका छन् । यही द्वन्द्वले सर्लाही–४ लाई निर्णायक बनाएको छ । यति मात्रै होइन, नेकपा (एमाले), जसपा नेपाल, जनमत पार्टी, नेपाली कम्युनिस्ट पार्टी लगायतका उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् । यद्यपि ३९ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा ठूला दलका चर्चित अनुहारबीच नै हुने स्थानीयको अनुमान छ ।
भारतसँग सीमा जोडिएका गाउँहरू पर्ने यो क्षेत्र सुरक्षाका हिसाबले संवेदनशील मानिन्छ । यहाँ रहेका ८१ वटै मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । एक लाख २१ हजारभन्दा बढी मतदाता रहेको सर्लाही–४ मा हरेक मत निर्णायक हुने सम्भावना देखिन्छ ।
अब प्रश्न एउटै छ,स्थानीय मतदाताले राष्ट्रिय नेतृत्वलाई रोज्छन् कि विगतमा जित्दै आएका अनुभवी अनुहारलाई ? फागुन २१ को मतदानले सर्लाही–४ मात्र होइन, देशकै राजनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ ।
No comments:
Post a Comment