अति संवेदनशील मतदानस्थलहरुको स्थलगत निरिक्षण
मधेशदूत समाचारदाता----
सर्लाही, माघ १२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीको निर्वाचन क्षेत्र नं. ४ मा सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ। अति संवेदनशील सूचीमा राखिएका मतदानस्थलहरूको स्थलगत अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको उच्चस्तरीय टोलीले निरीक्षण सुरु गरेको छ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार क्षेत्र नं. ४ भित्र ८१ वटा मतदानस्थल रहेका छन्। विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था र सम्भावित जोखिमको आधारमा यी सबै मतदानस्थललाई अति संवेदनशीलको श्रेणीमा राखिएको हो।
यसैक्रममा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको नेतृत्वमा प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे तथा जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेल सहभागी टोलीले केही मतदानस्थलको प्रत्यक्ष निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
निरीक्षणका क्रममा मतदानस्थलको भौतिक संरचना, पहुँच मार्ग, सुरक्षा चुनौती, जनशक्ति परिचालन तथा आकस्मिक व्यवस्थापन योजनाको मूल्यांकन गरिएको छ। सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिँदै निष्पक्ष, भयरहित र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सबै संयन्त्र सक्रिय बनाइएको प्रशासनले जनाएको छ।
जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि ३१२ वटा मतदानस्थल अन्तर्गत ६२८ मतदान केन्द्र कायम गरिएको छ। सुरक्षा अधिकारीहरूको टोलीले चरणबद्ध रूपमा अन्य मतदानस्थलहरूको समेत निरीक्षण जारी राख्ने जनाएको छ।
स्थलगत निरीक्षणले निर्वाचन सुरक्षा संयन्त्रलाई थप मजबुत बनाउने र मतदातामा विश्वास बढाउने अपेक्षा गरिएको छ।
No comments:
Post a Comment