दुर्घटनामा परेको मोटरसाइकलबाट गाँजा बरामद, चालक पक्राउ
मधेशदूत समाचारदाता----
सर्लाही, पुस २१
पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत कौडेना गाउँपालिका–३, पर्सा पोखरी नजिक दुईवटा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा एउटा मोटरसाइकलबाट लागूऔषध गाँजा बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत पुस १४ गते बिहान करिब ११ बजे मुसैलीबाट गोडैता तर्फ जाँदै गरेको BR 30 AF 1469 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको BR 06 CN 7442 नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो। दुर्घटनामा BR 30 AF 1469 नम्बरको मोटरसाइकल चालक मलंगवा नगरपालिका–७ का ३८ वर्षीय हरदास कुमार यादव र उनका ७० वर्षीय बुबा अमिन्द्र राय यादव घाइते भएका थिए। दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो। दुर्घटनापछि BR 06 CN 7442 नम्बरको मोटरसाइकल चालक फरार भएका थिए।
घटनास्थलमा पुगेको प्रहरीले मोटरसाइकल जाँच गर्दा सिटमुनि लुकाइछिपाई राखिएको ४ किलो ७१० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला पारेको थियो। त्यसपछि गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिइएको थियो।
खोजतलासको क्रममा प्रहरीले शुक्रवार दिउँसो करिब पौने १ बजे कौडेना गाउँपालिका–१ का २७ वर्षीय रविन्द्र गिरीलाई मलंगवा नगरपालिका–१० स्थित बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको छ।
पक्राउ परेका गिरीलाई सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment