Translate

Monday, January 5, 2026

निर्वाचन नजिकिँदै जाँदा सर्लाहीमा प्रशासनिक कडाइ, कार्यालय प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

  



मनोज यादव---
सर्लाही, पुस २२

   फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा सरकारी संयन्त्रलाई थप अनुशासित र नियन्त्रणमुखी बनाइएको छ। निर्वाचन अवधिभर कुनै पनि प्रशासनिक कमजोरी नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले कार्यालय प्रमुखहरूलाई कडा निर्देशन जारी गरेको छ।
    जिल्लाको सदरमुकाम मलंगवामा सोमबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरूलाई अनावश्यक रूपमा जिल्ला नछाड्न चेतावनी दिएको छ। अत्यावश्यक अवस्थामा जिल्ला बाहिर जानुपरेमा प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।
   बैठकले निर्वाचनको समयमा प्रयोगमा आउने सरकारी सवारी साधनको अवस्थामाथि पनि विशेष ध्यान दिन निर्देशन दिएको छ। जिल्लामा उपलब्ध सवारी साधनलाई मर्मतसम्भार गरी सधैं तयारी अवस्थामा राख्न र जिल्लाबाहिर सवारी पठाउँदा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य पास लिनुपर्ने व्यवस्था लागू गरिएको छ।
   निर्वाचन सम्पन्न गराउन आवश्यक जनशक्ति व्यवस्थापनका लागि सबै कार्यालयबाट कर्मचारी विवरण माग गरिएको छ। प्रत्येक कार्यालयले आफ्नो मातहतमा रहेका कर्मचारीको विवरण एक साताभित्र जिल्ला निर्वाचन कार्यालयमा पठाउनुपर्ने निर्णय गरिएको छ।
  मतदानस्थलसम्म पुग्ने सडक, पुल र पहुँच मार्गको अवस्था बिग्रिएको भए सम्बन्धित निकायले तत्काल सुधार गर्नुपर्ने बैठकले निर्णय गरेको छ। विकास निर्माणका कार्यमा अवरोध आए प्रशासनले समन्वय गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ।
   जिप्रकाको सभाहलमा बसेको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, नेपाली सेनाको कालिध्वज गणका प्रमुख सेनानी उमेश खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, निमित्त जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज राई, जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेललगायत सुरक्षा निकायका प्रमुख तथा सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।


No comments:

Post a Comment