फागुन २१ को निर्वाचन स्वच्छ र भयरहित बनाउने प्रतिबद्धता, आचारसंहिता कार्यान्वयनमा प्रशासन र सुरक्षा निकाय सक्रिय
मनोज यादव----
सर्लाही, माघ ५
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वच्छ बनाउने उद्देश्यसहित सर्लाहीमा प्रशासन, निर्वाचन अधिकारी र सुरक्षा निकाय सक्रिय भएका छन् । यसै क्रममा आइतवार सदरमुकाम मलंगवामा निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले निर्वाचन प्रक्रियालाई निष्पक्ष बनाउन सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा नागरिक समाजको सक्रिय भूमिका आवश्यक रहेको बताए । उनले सबै दल र उम्मेदवारलाई समान व्यवहार गर्ने र कुनै पनि किसिमको दबाब वा प्रभाव स्वीकार नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
सर्लाही क्षेत्र नं. २ का निर्वाचन अधिकृतसमेत रहेका थपलियाले निर्वाचन आयोगमा दर्ता भई जिल्लामा क्रियाशील रहेका विभिन्न राजनीतिक दलहरूसँग छुट्टाछुट्टै छलफल गरी आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको जानकारी दिए । निष्पक्ष निर्वाचनका लागि सबै पक्षबाट निरन्तर खबरदारी र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
अन्तरक्रियामा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रशासन तयार रहेको उल्लेख गर्दै कुनै पनि अवाञ्छित गतिविधि देखिएमा तत्काल सुरक्षा निकाय वा निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउन आग्रह गरे ।
यसैगरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक तथा मिथ्या सूचनामाथि निगरानी गर्न प्रहरीले विशेष शाखा गठन गरेको जानकारी दिए । उनले यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको जिल्ला समन्वय समितिको सभाहल आयोजना भएको अन्तरक्रियामा सहभागी जिल्लाका सञ्चारकर्मीहरूले मतदान र मतगणनाको समयमा सहज रूपमा समाचार संकलन गर्न सक्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा सर्लाही क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापा, क्षेत्र नं. ३ का निर्वाचन अधिकृत नवराज आचार्य, क्षेत्र नं. ४ का निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरे, जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेल, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुरलगायत विभिन्न संचार गृहका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गर्ने र सोही दिन मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
भोली पल्ट माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने र माघ ८ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ पछि निर्णय गरे पश्चात् सोही दिन
उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
निर्वाचन तालिका अनुसार माघ ९ गते उम्मेदवारको नाम फिर्ता लिने,उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।
अन्त्यमा फाल्गुन २१ गतेका दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले सम्बन्धित मतदान केन्द्रमा गएर मतदान गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
No comments:
Post a Comment