शितलहरपछि पनि अभावग्रस्त बालबालिकालाई बाल कल्याण समाजद्वारा निरन्तर सहयोग जारी
मधेशदूत समाचारदाता---
सर्लाही,माघ ५
केही समयअघि तराई–मधेशका जिल्लामा परेको शितलहरले जनजीवन प्रभावित बनाएको थियो। शितलहर अहिले क्रमशः कम भइसकेको भए पनि त्यसको असर विशेषगरी गरीब, दलित तथा अभावग्रस्त बालबालिकामा देखिएकोले बाल कल्याण समाज सर्लाहीले न्यानो लुगा वितरण कार्यक्रमलाई जारी राखेको छ।
विभिन्न व्यक्ति तथा संघ–संस्थाको सहयोगमा यस संस्थाले गोडैता नगरपालिका र मलंगवा नगरपालिकाका अभावग्रस्त बालबालिकालाई न्यानो ज्याकेट वितरण गरेको छ । पर्याप्त न्यानो लुगाको अभावका कारण शितलहरको समयमा कठिनाइ भोगेका विद्यालय जाने बालबालिकाको आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले हरेक वर्षझैं यस वर्ष पनि सहयोग कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।
यसैक्रममा गोडैता न.पा-३, सिमरा भगवतीपुरस्थित श्री सामुदायिक प्राथमिक विद्यालयमा अध्ययनरत १५ जना अभावग्रस्त बालबालिकालाई विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा न्यानो ज्याकेट वितरण गरिएको थियो। उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजिनन्द महतोको वडा सदस्य शंकर महतोको, बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम रायसहित विद्यालयका शिक्षक, अभिभावक, पत्रकार तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित वक्ताहरूले कठिन समयमा सहयोग गर्ने व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
यसैगरी,संस्थाको पहलमा मलंगवा न.पा-५,भाँडसर स्थित लाइफ लाइट कोचिङ सेन्टरमा अध्यनरत स्थानीय १८ जना अभावग्रस्त बालबालिकालाई न्यानो ज्याकेट वितरण गरेको छ।
शितलहर सकिए पनि त्यसबाट उजागर भएको बालबालिकाको आवश्यकता र जीवनस्तर सुधारका लागि गरिएको यस किसिमको सहयोगले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ।
No comments:
Post a Comment