मिर्जापुरमा गोठमा आगलागी,एक चौपयासहित डेढ लाख बराबरको क्षति
मधेशदूत समाचारदाता---
सर्लाही, पुस २४
सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा बुधबार आगलागी हुँदा करिब १ लाख ४८ हजार रुपैयाँ बराबरको क्षतिसहित एउटा चौपया जलेर मरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब २ बजेको समयमा स्थानीय ५० वर्षीय नन्दलाल साहको फुस र बाँसले बनेको भैँसी गोठमा विद्युत् तार सर्ट भई आगलागी भएको छ। उक्त आगलागीबाट अन्दाजी ५ हजार मूल्य बराबरको १ क्विन्टल गहुँ र लत्ताकपडा जलेर नष्ट भएको छ। आगोले पोलेर अन्दाजी ४० हजार मुल्यको एउटा पाडी मरेको छ भने एक-एक वटा भैँसी र बाख्रा घाइते भएको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट फुस र बाँसले बनेको गोठघर पूर्ण रूपमा जलेर नष्ट भएको छ, जसको अन्दाजी मूल्य रु. १ लाख रहेको छ। घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।
घटनाबारे बिहान करिब साढे ४ बजे जानकारी पाउनासाथ प्रहरी चौकी अर्नाहाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिगएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।
No comments:
Post a Comment