Translate

Thursday, January 8, 2026

सर्लाहीमा धार्मिक तथा सामाजिक संवेदनशीलताका बीच सम्भावित तनाव रोक्न प्रशासन सक्रिय

 



मधेशदूत समाचारदाता---
सर्लाही,पुस २४

सर्लाहीमा पछिल्ला दिनहरूमा देखिएको धार्मिक तथा सामाजिक संवेदनशीलताका बीच सम्भावित तनाव रोक्न जिल्ला प्रशासन कार्यालय सर्लाही सक्रिय बनेको छ । जनकपुर र वीरगञ्जमा घटेका घटनाको प्रभावस्वरूप सदरमुकाम मलंगवामा बन्द तथा प्रदर्शनको अवस्था सिर्जना भएपछि प्रशासनले शान्ति कायम गर्न तत्काल पहल गरेको हो ।
    यसै सन्दर्भमा बुधबार साँझ जिल्ला प्रशासन कार्यालय मलंगवामा जिल्ला शान्ति तथा सामाजिक सद्भाव समितिको आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले जिल्लामा शान्ति, सुव्यवस्था तथा धार्मिक–सामाजिक सहिष्णुता कायम राख्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको निष्कर्ष निकालेको छ ।
   बैठकले सामाजिक सद्भाव बिगार्ने गतिविधि, उत्तेजक अभिव्यक्ति तथा अफवाह फैलाउने कार्यप्रति कडाइ गर्ने निर्णय गरेको छ । साथै सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिमा संलग्न जो–कोहीलाई कानून बमोजिम कारबाही गर्ने र सो कार्यमा सबै पक्षले आ–आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरिएको छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा असर पर्ने खालका समाचार सम्प्रेषण नगर्न पत्रकारहरूलाई अनुरोधसमेत गरिएको छ ।
   बैठकपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा सबै नागरिकलाई संयमित रहन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत द्वन्द्व बढाउने सामग्री नप्रसारण गर्न अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले हस्ताक्षर गरेको विज्ञप्तिमा सबै जातजाति, भाषा, धर्म, लिङ्ग र वर्गका नागरिकलाई धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्दै शान्ति तथा सुव्यवस्था संरक्षणमा सहयोग गर्न अपिल गरिएको छ । कानूनविपरीत गतिविधि गरेको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
   प्रशासनका अनुसार जिल्लाका सबै स्थानीय तहमा स्थानीय शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी तिनलाई सक्रिय बनाइनेछ, जसले समुदायस्तरमै सम्भावित विवाद समाधानमा सहयोग पुर्‍याउनेछ ।
   प्रजिअ कडरियाको अध्यक्षतामा बसेको उक्त बैठकमा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज ,पत्रकार र विभिन्न धार्मिक समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।
  यसैबीच, बुधबार  बिहान मलंगवा बजारमा भएको बन्द तथा प्रदर्शनका क्रममा शान्ति भंग हुन नदिन प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोही दिन रिहा गरेको प्रशासनले जनाएको छ ।


No comments:

Post a Comment