Translate

Sunday, January 11, 2026

बलरामा मानव अधिकार स्रोत पुस्तिका मस्यौदामाथि छलफल

  



मधेशदूत समाचारदाता---
सर्लाही, पुस २७

   राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा बलरा नगरपालिका सर्लाहीको सहकार्यमा माध्यमिक तहका सामाजिक अध्ययन विषयका शिक्षकलाई लक्षित गरी तयार गरिएको मानव अधिकार स्रोत पुस्तिकाको मस्यौदामाथि सुझाव संकलन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
   बलरा न.पाको सभाहलमा आयोजना भएको कार्यक्रममा मानव अधिकारको अवधारणा, मौलिक हक, सूचनाको हक, निर्वाचन र मानव अधिकार, राजनीतिक दलको भूमिका, युवा, स्वास्थ्य, शिक्षा, रोजगारी, समावेशीकरण, वैदेशिक रोजगार, बसाइँसराइ तथा बाल अधिकार सम्बन्धी विषयहरू प्रस्तुत गरिएका थिए।
   कार्यक्रममा विद्यालय परिवेशमा देखिने मानव अधिकार उल्लङ्घनका घटनाहरू जस्तै बुलिङ, यातना, विभेद, बालविवाह, बाल हिंसा र हानिकारक प्रथाका साथै मानव अधिकारमैत्री विद्यालयको अवधारणा, विद्यार्थीका अधिकार, कर्तव्य, जिम्मेवारी, आचारसंहिता, नैतिकता र सदाचारसम्बन्धी विषयहरू पनि मस्यौदामा समेटिएको जानकारी दिइयो।
  त्यसैगरी जलवायु परिवर्तन, व्यवसाय, लोकतन्त्र, सुशासन, संघीयतामा स्थानीय सरकारको भूमिका, स्थानीय न्यायिक समिति, मानव अधिकारमुखी विकास पद्धति, विपद् व्यवस्थापन र श्रमिकको अधिकारजस्ता समसामयिक मानव अधिकार विषयहरूबारे समेत छलफल गरिएको थियो।
  ६० जना माध्यमिक तहका सामाजिक अध्ययन विषयका शिक्षक तथा विद्यार्थी को सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले स्रोत पुस्तिका तयार भएपछि सामाजिक अध्ययन विषयको अध्यापन–शिक्षणलाई प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेका थिए।
    राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका प्रमुख वुद्ध नारायण साहनीको अध्यक्षतामा तथा बलरा न.पा का प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा     मानव अधिकार अधिकृत इन्द्रजीत सहनीले सहभागीहरुलाई सहजीकरण गरेका थिए। कार्यक्रममा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र कुशवाहा लगायत नागरिक अगुवाहरुको समेत सहभागिता रहेको थियो
    मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश कुमार मिश्रले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रसम्म मानव अधिकारसम्बन्धी चेतना फैलाउन टेवा पुग्ने बताए।


No comments:

Post a Comment