सर्लाहीमा निर्वाचन प्रहरीको लागि आवेदन सुरु युवा-युवतीहरुको बाक्लो भिड
मधेशदूत समाचारदाता----
सर्लाही ,पुस २७
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन सुरु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लाको चार निर्वाचन क्षेत्रमा खटाउन ३ हजार ९२६ जना
निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया शुक्रवारबाट सुरु भइसकेको छ।
यतिबेला जिल्लाभरीबाट आवेदन दिन आएका युवा-युवतीहरुको जिप्रका नजिकै रहेको जिल्ला खेलकुद विकासको खेल मैदानमा बाक्लो भीड देखिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नियम अनुसार निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आगामी माघ १ गतेसम्म दरखास्त दिन सक्ने जनाइएको छ। भर्ना हुन चाहनेहरुले सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित जिप्रका कार्यालयमा दरखास्त दिन सकिने जनाइएको छ।
यस्तै, निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोके बमोजिम रहने छ। सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपियाँ ४० पैसाको दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपियाँ पारिश्रमिक प्रदान गरिने जनाइएको छ। साथै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्चसमेत उपलब्ध गराइने छ।
No comments:
Post a Comment