सर्लाही–२ मा नयाँ आशाको उदय : काम, परिणाम र जनजीवन केन्द्रमा राख्ने डा. सरोज कुमार
मधेशदूत समाचारदाता---
सर्लाही,माघ ७
सर्लाही क्षेत्र नम्बर-२ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सरोज कुमारले इमानदार नेतृत्व, स्पष्ट दृष्टिकोण र जनताको प्रत्यक्ष सहभागितासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले राजनीति भाषण र वाचामा सीमित नभई काम र परिणामबाट जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने धारणा अघि सार्नुभएको छ।
डा. सरोज कुमारका अनुसार अबको राजनीति सत्ता र व्यक्तिकेन्द्रित नभई जनजीवन केन्द्रित हुनुपर्छ। “जहाँ भाषणभन्दा काम, वाचाभन्दा परिणाम र राजनीतिभन्दा जनताको जीवन प्राथमिकतामा हुन्छ,” भन्ने उहाँको भनाइले सर्लाही–२ मा नयाँ राजनीतिक सोचको संकेत गरेको छ।
उहाँले नेपाली काँग्रेस जनतासँग र जनता नेपाली काँग्रेससँग जोडिनु नै वास्तविक परिवर्तनको आधार भएको उल्लेख गर्नुभयो। लामो समयदेखि एउटै अनुहार र उही शैलीको राजनीतिलाई हेर्दै आएका मतदाताहरू अब नयाँ पुस्ताको नयाँ सोच र नेतृत्व खोजिरहेको सन्दर्भमा डा. सरोज कुमारलाई विकल्पका रूपमा हेरिन थालेको छ।
स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि र आधारभूत सेवामा सुधारलाई प्राथमिकतामा राख्दै जनताको दैनिकीसँग जोडिने विकास नै आफ्नो मुख्य एजेण्डा भएको उहाँको भनाइ छ। व्यावसायिक दक्षता, स्वच्छ छवि र जनमुखी सोचका कारण सर्लाही–२ का विभिन्न समुदायबाट उहाँप्रति समर्थन बढ्ने स्थानीयहरू बताउँछन्।
सर्लाही–२ मा यसपटकको निर्वाचनलाई परम्परागत राजनीतिबाट बाहिर निस्केर नयाँ नेतृत्व रोज्ने अवसरका रूपमा लिइएको छ। यही सन्दर्भमा डा. सरोज कुमारको उम्मेदवारीलाई इमानदार नेतृत्व र वास्तविक परिवर्तनको आशाका रूपमा हेरिएको छ।
No comments:
Post a Comment