Translate

Monday, January 12, 2026

शितलहरको मारमा परेका विद्यालय जाने बालबालिकालाई न्यानो लुगाको राहत

 



मधेशदूत समाचारदाता
सर्लाही, पुस २९

   तराई–मधेशमा पछिल्ला तीन सातादेखि जारी शितलहरका कारण प्रभावित भएका विद्यालय जाने बालबालिकालाई लक्षित गर्दै न्यानो लुगाको राहत वितरण गरिएको छ। 
   सगरमाथा आधारभूत आवासीय विद्यालय, मलंगवाको सहयोगमा बाल कल्याण समाज सर्लाहीले मलंगवा ,गोडैता र बलरा नगरपालिका क्षेत्रका गरीब, दलित तथा अभावग्रस्त बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो।
    लगातारको चिसोका कारण न्यानो लुगाको अभावमा बालबालिकाको स्वास्थ्य जोखिम बढ्दै गएको अवस्थालाई ध्यानमा राखी राहत कार्यक्रम सञ्चालन गरिएको बाल कल्याण समाज सर्लाहीले जनाएको छ। संस्थाले हरेक वर्षझैं यस वर्ष पनि विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट नगद र जिन्सी सहयोग संकलन गरी अभावग्रस्त बालबालिकालाई न्यानो लुगा उपलब्ध गराउँदै आएको छ।
   यसै अभियानअन्तर्गत सगरमाथा आधारभूत आवासीय विद्यालयबाट प्राप्त न्यानो लुगा मलंगवा नगरपालिका वडा नं. ४ र ५ का १५ जना, श्री रामजानकी आधारभूत विद्यालय गोडैता–६ बगदहका ८ जना, श्री रूपा दास प्राथमिक विद्यालय बलरा–९ नरहजगन्जका ४ जना तथा श्री प्राथमिक विद्यालय बलरा–११ छतौनाका ३ जना गरी जम्मा ३० जना अभावग्रस्त बालबालिकालाई वितरण गरिएको संस्थाका अध्यक्ष सुन्दर श्याम रायले जानकारी दिए।
    न्यानो लुगा वितरण कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, पत्रकार तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थितहरूले शितलहरका कारण सिर्जित कठिन परिस्थितिमा सहयोग पुर्‍याउने सगरमाथा आधारभूत आवासीय विद्यालय तथा कार्यक्रम आयोजक बाल कल्याण समाज सर्लाहीप्रति आभार व्यक्त गर्दै यस्ता सहयोग कार्यक्रम आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन्।

No comments:

Post a Comment