Translate

Monday, January 12, 2026

तरुल किसान र उपभोक्ता दुबै मारमा, बिचौलिया मात्रै फाइदामा




मधेश दूत समाचारदाता
सर्लाही, पुस २९

  माघे सङ्क्रान्तिको प्रमुख परिकार मानिने तरुल यस वर्ष सर्लाहीका किसानका लागि आम्दानीभन्दा बढी पीडाको कारण बनेको छ। खेतमा तरुल उब्जाउने किसानले लागतसमेत नउठ्ने मूल्य पाउँदा निराश छन् भने अर्कोतर्फ उपभोक्ताले भने यही तरुल किन्न दोब्बरभन्दा बढी मूल्य तिर्न बाध्य छन्।
   बागमती र बरहथवा नगरपालिकामा व्यावसायिक रूपमा तरुल खेती हुँदै आएको छ। माघे सङ्क्रान्ति नजिकिँदै गर्दा किसानले तरुल खनेर बजार पठाइसकेका छन् तर बजारले किसानलाई न्याय दिन सकेको छैन। किसानका अनुसार खेतमै प्रतिकिलो ५० देखि ६० रुपियाँमा तरुल बिक्री भइरहँदा काठमाडौँ र स्थानीय खुद्रा बजारमा यही तरुल १५० रुपियाँभन्दा बढीमा बिक्री भइरहेको छ।
   बागमती नगरपालिका–४ जिरायतका किसान नरेश महतोले मजदुरी, ढुवानी र अन्य खर्च कटाउँदा आफूहरू घाटामा पुगेको बताए । “तरुल खन्ने मजदुरलाई प्रतिकिलो आठ रुपियाँ दिनुपर्छ। त्यसपछि ढुवानी खर्च थपिन्छ,” उनले भने, “यति दुःख गरेर उब्जाएको तरुल सस्तोमा बेच्नुपर्दा खेती गर्न मनै मर्छ।”
   गत वर्ष प्रतिकिलो ८० रुपियाँसम्म पाइने तरुल यस वर्ष व्यापारीले मूल्य नै नलगाएको किसानको गुनासो छ। जिरायतकै किसान विशाल बम्जनले अघिल्लो वर्ष ९० हजार रुपियाँमा बिक्री गरेको पाँच कट्ठाको तरुल यस वर्ष ७० हजार रुपियाँमै बेच्नुपरेको बताउँछन् । “तरुल जमिनमुनि हुने भएकाले व्यापारीले बोट हेरेर मूल्य तोक्छन्,” उनले भने, “यसपालि भने मोलमोलाइ गर्ने अवस्थासमेत आएन।”
   व्यापारीहरूले भने अन्य जिल्लाबाट पनि तरुल काठमाडौँ पुग्न थालेको र उपभोक्ता खरिद घटेकाले मूल्य घटेको दाबी गर्छन्। तर किसानले खेतमा सस्तोमा बेचेको तरुल खुद्रा बजारमा अत्यधिक महँगो हुनु बिचौलिया प्रणालीको स्पष्ट उदाहरण भएको उपभोक्ताको गुनासो छ।
   कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लामा हाल ३०८ हेक्टर क्षेत्रफलमा तरुल खेती भइरहेको छ। तर मूल्य सुनिश्चित नहुँदा र उत्पादन प्रक्रियामा अत्यधिक श्रम लाग्ने भएकाले पछिल्ला वर्षमा तरुल खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ।
   किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था अन्त्य गर्न बजार व्यवस्थापन, न्यूनतम समर्थन मूल्य र किसान–उपभोक्ता प्रत्यक्ष पहुँचको व्यवस्था आवश्यक देखिएको छ। नत्र माघे सङ्क्रान्तिको पहिचान बोकेको तरुल खेती नै संकटमा पर्ने किसानको चिन्ता छ।

No comments:

Post a Comment