Translate

Thursday, January 15, 2026

सर्लाहीमा निर्वाचन प्रहरी भर्नाका लागि ६ हजार २६५ जनाले दिए आवेदन,माग भन्दा झण्डै दोब्बर

 



मनोज यादव----
सर्लाही ,माघ १

   आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दर्ता प्रक्रिया सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा खटाउन ३ हजार ९२६ जना निर्वाचन प्रहरी भर्ना गर्ने लक्ष्य रहे पनि कुल ६ हजार २६५ जनाले आवेदन दिएका छन्।
   आवेदन दिनेहरूमध्ये ९१३ जना महिला र ५ हजार ३४२ जना पुरुष रहेका छन्। मागभन्दा झण्डै दोब्बर आवेदन परेपछि निर्वाचन प्रहरी भर्नाप्रति युवायुवतीको आकर्षण देखिएको छ।
जिल्लाभरिबाट आवेदन दिन आएका युवायुवतीहरूको आवेदन अवधिभर जिल्ला प्रहरी कार्यालय नजिकै रहेको जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा बाक्लो भीड देखिएको थियो। भर्ना प्रक्रिया माघ १ गतेसम्म सञ्चालन गरिएको थियो।


   नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको नियमअनुसार निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने व्यवस्था गरिएको थियो। इच्छुक उम्मेदवारहरूले सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर–२ स्थित जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका थिए।
   जिल्ला प्रहरी कार्यालयका अनुसार निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम रहनेछ। सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि कुल ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक प्रदान गरिने जनाइएको छ। साथै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले पाउने दररेटअनुसार खाद्यान्न खर्चसमेत उपलब्ध गराइनेछ।


निर्वाचन नजिकिँदै जाँदा सीमित अवधिको रोजगारी र राष्ट्र सेवाको अवसरका रूपमा निर्वाचन प्रहरी भर्नाप्रति युवायुवतीको चासो बढ्दो रहेको देखिन्छ।


No comments:

Post a Comment