मुसहर समुदायलाई सुँगुर वितरण
मधेशदूत समाचारदाता---
सर्लाही,माघ १
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर- ९ अन्तर्गत कुरिनिया, खुशीपुर र खोरियाटोलमा मुसहर समुदायका परिवारलाई सुँगुर वितरण गरिएको छ।
हरिपुर नगरपालिका वडा नम्बर- २ स्थित ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारी तथा ईश्वरपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति परियोजना को आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो। कार्यक्रमअन्तर्गत ९० वटा सुँगुर वितरण गर्नुका साथै सुँगुर राख्नका लागि खोरको व्यवस्थापनसमेत गरिएको संस्थाले जनाएको छ।
सुँगुर वितरणबाट मुसहर समुदायका परिवारको दैनिकी सहज हुने, आर्थिक अवस्थामा सुधार आउने र बालबालिकाको पढाइलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको छ।
सुँगुर प्राप्त गरेका स्थानीयले सुँगुरको राम्रो पालनपोषण र रेखदेख गर्ने तथा भविष्यमा संख्या बढाएर व्यावसायिक रूपमा आम्दानीको स्रोत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
No comments:
Post a Comment