शितलहरमा काँपिरहेका बालबालिकालाई नेपाल-भारत मैत्री संघद्वारा न्यानोपनको साथ
मधेशदूत समाचारदाता---
सर्लाही,पुस ३०
तराई–मधेशका जिल्लाहरूमा झण्डै एक महिनादेखिको निरन्तर शितलहरले जनजीवन कष्टकर बन्दै गएको अवस्थामा चिसोको सबैभन्दा बढी मार गरीब, दलित तथा अभावग्रस्त परिवारका बालबालिकाले खेप्नुपरेको र पर्याप्त न्यानो लुगाको अभावमा विद्यालय जान समेत कठिनाइ भोगिरहेको समस्यालाई मध्येनजर गर्दै त्यस्ता बालबालिकालाई राहत स्वरुप न्यानो लुगा वितरण गरिएको छ।
नेपाल–भारत मैत्री संघको आर्थिक सहयोगमा बाल कल्याण समाज सर्लाहीले गोडैता नगरपालिका–५ रामावनस्थित श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयमा अध्ययनरत १७ जना अभावग्रस्त बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो। चिसोबाट जोगाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बालबालिकालाई ज्याकेट, स्वेटरलगायत न्यानो लुगाहरू प्रदान गरिएको थियो।
कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष रामजी महतोको अध्यक्षतामा सम्पन्न भएको थियो भने विद्यालयका संरक्षक तथा बज्जिका साहित्य समाजका अध्यक्ष रामचन्द्र कुशवाहा प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम राय र मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश कुमार मिश्रको पनि विशेष आतिथ्य रहेको थियो।
बाल कल्याण समाजले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि शितलहरबाट प्रभावित बालबालिकालाई लक्षित गरी विभिन्न संघ–संस्था तथा व्यक्तिहरूसँग सहयोग संकलन गर्दै आएको छ। यही क्रममा नेपाल–भारत मैत्री संघको सहयोगबाट हालसम्म मलंगवामा १५ जना र गोडैतामा १७ जना गरी जम्मा ३२ जना बालबालिकालाई न्यानो लुगा वितरण गरिसकिएको समाजका अध्यक्षले जनाएको छ।
न्यानो लुगा वितरण कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, पत्रकार तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। न्यानो लुगा पाएपछि बालबालिकाको अनुहारमा देखिएको खुसीले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूले बताए।
कार्यक्रममा उपस्थित अभिभावक तथा स्थानीयले कठ्यांग्रिने जाडोमा बालबालिकाको जीवन सुरक्षित बनाउन सहयोग पुर्याएकोमा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्य निरन्तर हुने विश्वास व्यक्त गरेका छन्।
No comments:
Post a Comment