माघे सङ्क्रान्तिले बढायो स्थानीय बजारमा चहलपहल,तर गुड र तिलमा भारतीय बजारनै हाबी
मधेशदूत समाचारदाता—
सर्लाही, पुस ३०
माघे सङ्क्रान्ति नजिकिँदै जाँदा सर्लाहीका बजारहरूमा चहलपहल बढ्न थालेको छ । विशेष गरी मुरही (भुजा), चिउरा, तिल र गुडजस्ता परम्परागत खाद्य सामग्रीको कारोबार उल्लेख्य रूपमा बढेको व्यापारीहरूले बताएका छन् ।
माघ १ गते मनाइने माघे सङ्क्रान्तिमा तिल, मुरही र चिउराको लड्डु सँगै चाकु खाने परम्परा भएकाले यी सामग्रीको माग हरेक वर्ष यसै समयमा उच्च हुने गरेको हो । गुडबाट बनाइने लड्डु (लाई)लाई विशेष महत्त्व दिइने भएकाले सङ्क्रान्ति नजिकिँदै जाँदा गुडको बिक्री सामान्य दिनको तुलनामा धेरै गुणा बढ्ने व्यापारीहरूको भनाइ छ ।
व्यापारीका अनुसार वर्षको अन्य समयमा गुड र तिलको बिक्री न्यून हुने भए पनि पुस महिनाको अन्तिम हप्ता सुरु भएपछि बजारमा ग्राहकको चाप बढ्ने गर्छ । यस अवधिमा मुरही, चिउरा, तिल र गुडको कारोबारले साना व्यापारीलाई राम्रो आम्दानीको अवसर प्रदान गर्दै आएको छ ।
तर पछिल्ला केही वर्षयता स्थानीय बजारका व्यापारीहरू अर्को चुनौतीको सामना गरिरहेका छन् । मूल्य र विविधताको कारण देखाउँदै धेरै नेपाली उपभोक्ता गुड र तिल किन्न सिमावर्ती भारतीय बजार जाने गरेका छन् । मुरही र चिउरा भने अधिकांशले स्थानीय बजारबाटै खरिद गर्ने गरेको मलंगवाका एक गुड बिक्रेताले बताए ।
माघे सङ्क्रान्ति नजिकिँदै जाँदा परम्परागत परिकारले बजार तातिए पनि स्थानीय व्यापारीले ग्राहक जोगाउन प्रतिस्पर्धी मूल्य र गुणस्तरमा ध्यान दिनुपर्ने देखिएको छ ।
No comments:
Post a Comment