Translate

Wednesday, January 14, 2026

शितलहरपछि घामको साथ, सरस्वती पूजाका लागि मूर्तिकारको व्यस्त दिनचर्या

 


मनोज यादव---

सर्लाही, पुस ३०

लामो समयसम्म चलेको शितलहर हट्दै घाम देखिन थालेपछि सर्लाहीका मूर्तिकारहरूको अनुहारमा रौनक छाएको छ।
   माघ ९ गते मनाइने श्रीपञ्चमी तथा सरस्वती पूजा नजिकिँदै जाँदा जिल्लाभरि सरस्वतीको मूर्ति बनाउने कामले तीव्रता पाएको छ। मौसमले साथ दिएसँगै मूर्तिकारहरू बिहानदेखि साँझसम्म, कहिलेकाहीँ रातिसम्म पनि काममा व्यस्त देखिन्छन्।
   २० वटा पालिका रहेको सर्लाही जिल्लाका सामुदायिक तथा निजी विद्यालय, कोचिङ र ट्युशन सेन्टरदेखि लिएर गाउँ–नगरका चोकचोकसम्म सरस्वती पूजाको तयारी सुरु भइसकेको छ। यही तयारीसँगै मूर्तिकारहरूका लागि यो समय वर्षकै सबैभन्दा व्यस्त मौसम हो।
मलंगवा नगरपालिका–४ का मूर्तिकार राम ईश्वर पण्डित पुस्तौंदेखि यही पेशामा आबद्ध छन्। उनीसँगै सोही वडाका अन्य मूर्तिकारहरू पनि यतिबेला सरस्वतीको मूर्ति बनाउन भ्याईनभ्याई अवस्थामा छन्। “घाम नलाग्दा मूर्ति नसुक्ने चिन्ता थियो,” पण्डित भन्छन्, “तर अब घाम देखिन थालेपछि ढुक्क भएको छु। घाम उदाएपछि मात्रै मूर्ति राम्रोसँग सुक्छ, अनि मात्रै रंगरोगन गर्न मिल्छ।”


    मूर्ति निर्माण सजिलो प्रक्रिया होइन। माटोको जोहो, खर–पराल र भुसको तयारी, जुट र रङको व्यवस्थापनदेखि लिएर घामपानी र वातावरणअनुसार ढाल मिलाउँदै मूर्ति बनाउनु पर्छ। समय कम र काम धेरै भएकाले मूर्तिकारहरूलाई हतार–हतार काम गर्नुपरेको छ। पण्डित परिवारका सबै सदस्य मिलेर हरेक वर्ष एक लाख रुपैयाँभन्दा बढीका सरस्वतीका मूर्ति बनाउने गर्छन्।
    मूर्ति तयार गर्ने संख्या र आकारअनुसार आम्दानी पनि फरक–फरक हुन्छ। यहाँ बनाइने सरस्वतीका मूर्तिहरू दुई हजार रुपैयाँदेखि दस हजार रुपैयाँसम्म, केही ठूला र आकर्षक मूर्तिहरू अझ बढी मूल्यमा पनि बिक्री हुने गरेका छन्। बढ्दो मागका कारण सरस्वती पूजाको बेला मूर्तिकारहरूले दिनरात नभनी काम गर्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।


   सरस्वती पूजामात्र होइन, वर्षभरि गणेश, विश्वकर्मा, कृष्ण जन्माष्टमी, दुर्गा पूजा लगायत विभिन्न चाडपर्वका लागि पनि यहाँ मूर्ति निर्माण हुन्छ। यसले मूर्तिकारहरूको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको छ।
   केही वर्षअघिसम्म पण्डित (कुम्हार) जातिका व्यक्तिहरूले मात्र मूर्ति बनाउने परम्परा भए पनि पछिल्लो समय अन्य जातिका व्यक्तिहरू पनि यो पेशामा आकर्षित भएका छन्। मूर्ति निर्माणलाई व्यावसायिक रूपमा अंगाल्नेहरूको संख्या बढ्दै जाँदा यो कला र पेशा दुवैको संरक्षण हुने आशा गरिएको छ।
   घामले साथ दिएको यो समय सर्लाहीका मूर्तिकारहरूका लागि अवसर र चुनौती दुवै हो। सरस्वती पूजासँगै उनीहरूको मिहिनेत र कलाले पनि आकार लिँदै छ माटो, रङ र आस्थाले बनेका सरस्वतीका मुर्तिहरूमा।

No comments:

Post a Comment