Translate

Saturday, January 24, 2026

दुर्घटना न्यूनीकरणका लागि मलंगवाका मेयर द्वारा ट्राफिक प्रहरीलाई सचेतना बोर्ड हस्तान्तरण

  



मधेशदूत समाचारदाता---
 सर्लाही,माघ ११

   मलंगवा नगरपालिकाले सडक दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै ट्राफिक सचेतना चिन्हसहितका बोर्ड  ट्राफिक प्रहरी कार्यालय मलंगवालाई हस्तान्तरण गरेको छ।
    नगरप्रमुख नागेन्द्र प्रसाद यादवले मलंगवास्थित ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच ती बोर्डहरु ट्राफिक प्रहरीलाई प्रदान गर्नुभएको हो। नगरपालिकाका तर्फबाट उपलब्ध गराइएका यी बोर्डहरू मलंगवाका दुर्घटना सम्भावित क्षेत्रहरूमा राखिने जनाइएको छ।
  कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता सरोज राई, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक अशोक कुमार साह, मलंगवा नगरपालिका–२ का वडाध्यक्ष धिरेन्द्र साहलगायत स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
   ट्राफिक प्रहरी कार्यालय मलंगवाका इन्चार्ज रविन्द्र खड्काका अनुसार सडक प्रयोगकर्तालाई सचेत गराउने उद्देश्यले यी बोर्डहरू प्रमुख चोक तथा दुर्घटनाको जोखिम बढी रहेका स्थानमा जडान गरिनेछ। यसले ट्राफिक नियम पालना गर्न सहयोग पुग्ने र सडक सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
  सडक अनुशासन कायम गर्दै जनधनको क्षति कम गर्ने लक्ष्यसहित नगरपालिकाले थालेको यो पहललाई स्थानीयवासीले स्वागत गरेका छन्। सुरक्षित र व्यवस्थित मलंगवा निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको  नगरप्रमुख यादवले बताएका छन् ।

No comments:

Post a Comment