Translate

Saturday, January 24, 2026

काठमाडौं छाडेर मधेश रोजेका थापाको सर्लाही ४ बाट नयाँ राजनीतिक प्रयोग



मधेशदूत समाचारदाता---
सर्लाही, माघ ११

   नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन कुमार थापा जनतासँग प्रत्यक्ष भेटघाटको लागि सर्लाही क्षेत्र न-४ आउने भएका  छन्। राजधानी केन्द्रित राजनीति छाडेर मधेशको कोर क्षेत्र मानिने सर्लाहीबाट प्रतिनिधिसभा निर्वाचन लड्ने थापाको निर्णयले राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु गराएको छ।
    कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहका अनुसार सभापति थापा अब केही दिन सर्लाहीमै बसेर चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा सक्रिय हुनेछन्। विशेष महाधिवेशनपछि टिकट वितरणमै व्यस्त हुनुपर्दा थापाले माघ ६ गते वारेसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।
   काठमाडौं क्षेत्र न-४ जस्तो सुरक्षित मानिएको निर्वाचन क्षेत्र छाडेर सर्लाही क्षेत्र न-४ बाट उम्मेदवारी दिनु केवल निर्वाचन रणनीति मात्र नभई पार्टीभित्र सन्देश प्रवाह गर्ने राजनीतिक निर्णय भएको विश्लेषकहरूको मत छ। कांग्रेस नेतृत्वले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका थापाले मधेशबाट जित सुनिश्चित गर्न सकेमा त्यसले राष्ट्रिय स्तरमै कांग्रेसको सांगठनिक आधार बलियो बनाउने विश्वास गरिएको छ।
   थापाले आफू सर्लाहीका नेता–कार्यकर्ताको आग्रह र विश्वासका कारण यहाँबाट उम्मेदवार बनेको बताएका छन्। जीवनकै ठूलो राजनीतिक जोखिम मोलेर मधेश रोजेको उनको भनाइले चुनावी मैदानमा कांग्रेस कार्यकर्तामा नयाँ उत्साह थपिएको देखिन्छ।
 काठमाडौंको स्थापित राजनीतिबाट बाहिरिएर मधेशको जनभावना परीक्षण गर्ने थापाको कदमले सर्लाही ४ को निर्वाचनलाई मात्र होइन, समग्र प्रतिनिधिसभा निर्वाचनलाई नै विशेष चासोको विषय बनाइदिएको छ।

No comments:

Post a Comment