मलंगवामा अभावग्रस्त बालबालिकालाई न्यानो लुगा वितरण
मधेशदूत समाचारदाता
सर्लाही,पुस २२
चिसो मौसमको प्रभाव तीव्र बन्दै गएसँगै बाल कल्याण समाज सर्लाहीले सगरमाथा आधारभूत आवासीय विद्यालय मलंगवाका शिक्षकहरूको सहयोगमा मलंगवा नगरपालिका वडा नं. ४ र ५ का गरीब, दलित तथा अभावग्रस्त बालबालिकालाई न्यानो लुगा वितरण गरेको छ।
तराई–मधेश क्षेत्रमा विगत १९ दिनदेखि जारी शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ। विशेषगरी न्यून आय भएका परिवारका बालबालिका चिसोको उच्च जोखिममा परेका छन्। बालबालिकाको स्वास्थ्य सुरक्षा र पठन–पाठनमा असर पर्न नदिन सहयोग, सद्भाव र मानवीय सहानुभूतिलाई केन्द्रमा राख्दै बाल कल्याण समाजले विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट नगद तथा जिन्सी सहयोग संकलन गर्दै आएको जनाएको छ।
यसै अभियान अन्तर्गत सोमबार सगरमाथा आधारभूत आवासीय विद्यालयसँग समन्वय गरी विद्यालय परिसरमै वडा नं. ४ र ५ का १५ जना बालबालिकालाई एक–एक सेट न्यानो लुगा वितरण गरिएको हो।
कार्यक्रममा बाल कल्याण समाजका अध्यक्ष तथा सामाजिक अभियन्ता सुन्दर श्याम राय, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष अधिवक्ता राजेश पासवान, विद्यालयका प्रधानाध्यापक जोसेप क्षेत्री,राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका कार्यक्रम अधिकृत गोविन्द पासवान तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार यसअघि पनि शीतलहरको असर बढ्दै जाँदा मलंगवा नगरपालिका वडा नं. २, ३, ९ र ११ का अभावग्रस्त बालबालिकालाई न्यानो ज्याकेट वितरण गरिसकिएको छ। संस्थाले आगामी दिनमा पनि यस्ता राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
No comments:
Post a Comment