सर्लाहीमा मनोज यादवको अध्यक्षतामा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन / पत्रकारितामार्फत हिन्दु धर्म–संस्कृतिको संरक्षण मुख्य उद्देश्य
मधेशदूत समाचारदाता----
सर्लाही, पुस २२
हिन्दु पत्रकारहरूको छुट्टै सङ्गठनका रूपमा पर्साको वीरगंजमा स्थापना भएको हिन्दु पत्रकार संघ नेपालको पहिलो जिल्ला शाखा सर्लाहीमा गठन गरिएको छ। सोमबार सदरमुकाम मलंगवामा आयोजित भव्य घोषणा सभामार्फत संघको १४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो।
हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै पत्रकारितामार्फत हिन्दु समुदायको अधिकार र आवाजलाई सशक्त बनाउने उद्देश्यसहित मनोज यादवको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरिएको छ। कार्यसमितिमा उपाध्यक्षमा प्रेमनाथ पौडेल र जितेन्द्र कुशवाहा, सचिवमा सन्तोष कर्ण, सह–सचिवमा संजय गुप्ता तथा कोषाध्यक्षमा सन्तोष कुमार यादव चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा मनिषा कुशवाहा, चन्दन मिश्र, सुनिल राय, अमृता मुखिया, जितेश कुमार यादव, राम झा, सुभाष मण्डल र विवेक यादव रहेका छन्।
मलंगवा नगरपालिका–८ स्थित कुसुम पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा नवगठित जिल्ला अध्यक्ष यादवले हिन्दु धर्ममाथि हुने प्रहारको विरोध गर्दै सनातन मूल्य–मान्यताको रक्षा गर्नु संघको प्रमुख लक्ष्य रहेको स्पष्ट पारे। उनले पत्रकारिताको माध्यमबाट हिन्दु धर्म, संस्कृति र समुदायका सवाललाई जिम्मेवार ढंगले उठाइने प्रतिबद्धता जनाए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले हिन्दु पत्रकार संघ नेपालको गठनलाई स्वागत गर्दै यसले पत्रकारिताको विविधतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले सनातन मूल्यहरूको संरक्षणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नवगठित कार्यसमितिलाई शुभकामना दिए।
कार्यक्रममा हिन्दु सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा यादवले संघको स्थापनालाई ऐतिहासिक कदमको संज्ञा दिँदै यसले पत्रकारहरूबीच एकता र हिन्दु धर्मको संरक्षणमा योगदान पुर्याउने बताए।
सभाको अध्यक्षता गरेका संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले पत्रकारिताको मर्यादा कायम राख्दै हिन्दु धर्म र संस्कृतिको संरक्षणमा संघले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा संघका केन्द्रीय सचिव राजकुमार सर्राफ, केन्द्रीय सल्लाहकार एस.के. चौरसिया, केन्द्रीय सदस्य कन्हैया पटेल, संजय प्रसाद कुशवाहा, मिडिया काउन्सिल मधेश प्रदेशकी सदस्य बन्दना झा, राष्ट्रिय बजरंग दलका धिरेन्द्र मिश्र, मलंगवा नगर संरक्षण तथा सुधार समितिका अध्यक्ष चन्दन सिंह, एकल विद्यालय अभियान सर्लाहीका अध्यक्ष बद्री नारायण मिश्रलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव सोम दियालीले गरेका थिए।
No comments:
Post a Comment