Translate

Monday, January 5, 2026

सर्लाहीमा शीतलहरको दोस्रो प्रकोप जनस्वास्थ्य, कृषि र दैनिक जीवनमा चुनौती

 


मनोज यादव---
सर्लाही, पुस २२

    दुई दिनको मौसमी सुधारपछि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा फेरि शीतलहरले आक्रमण थालेको छ। 
  पुस ४ गतेदेखि शीतलहर प्रकोपका रूपमा देखिएको थियो भने केही दिन मौसम खुलेसँगै जनजीवन सामान्य अवस्थामा फर्कन लागेको थियो। तर शनिबार अपरान्हदेखि पश्चिमी स्याँठ र बाक्लो कुहिरोको बीच शीतलहरको दोस्रो प्रकोप सुरु हुँदा दैनिक जीवन पुनः प्रभावित भएको छ।
  सूर्य चम्किरहेको दुई दिनमा तापक्रम २५ डिग्रीसम्म पुगेको थियो। किसान उखु काट्न व्यस्त थिए भने गृहिणीहरू अन्न सुकाउने र कपडा धुने काममा लागेका थिए। बन्द विद्यालयहरू धमाधम खुल्दै थिए। तर फेरि चिसो बढेसँगै सडक पेटी र चोक–चोकमा आगो ताप्नेको भिड बढेको छ। हाटबजारको चहलपहल पनि घटेको छ।
    मौसम पूर्वानुमानअनुसार शीतलहरको प्रकोपसँगै तापक्रम न्यूनतम ९ डिग्रीसम्म झरेको छ। यसले जनस्वास्थ्य, कृषि र दैनिक जीवनमा चुनौती थपेको छ। सदरमुकाम मलंगवास्थित अस्पतालका चिकित्सकहरूका अनुसार चिसोका कारण रुघाखोकी, न्यूमोनिया, स्वासप्रश्वास, दम, रक्तचाप, हाडजोर्नी सम्बन्धी समस्या र पछिल्लो समय कोल्ड डायरियाका बिरामीहरू बढ्दै गएको बताइएको छ।


    कृषिमा समेत शीतलहरको असर देखिन थालेको छ। किसानहरूले चिसोका कारण आलु बालीमा ढुसीजन्य डढुवा रोग देखा परेको र समयमै नियन्त्रण नगरे तरकारी बालीमा ठूलो क्षति पुग्न सक्ने बताएका छन्।
  जाडोबाट अति प्रभावित समुदायले आवश्यक सहयोगको प्रतीक्षामा रहेको बताउँदै सम्बद्ध निकायले जाडोमा सावधानी अपनाउन, आवश्यक नपरे घरबाहिर ननिस्कन सुझाव दिएको छ।
शीतलहरको दोस्रो प्रकोपले  जनजीवनमा फेरि कठिनाइ थपेको छ भने कृषक, विद्यार्थी र सर्वसाधारण सबैलाई यसबाट प्रत्यक्ष असर परेको देखिन्छ।


No comments:

Post a Comment