मधेशी सहिदको सम्मानलाई संस्थागत र लागुऔषध नियन्त्रणलाई प्राथमिकता, नवनियुक्त मन्त्री फकिरा महतोको पहिलो निर्णय
मधेशदूत समाचारदाता—
सर्लाही, पुस १८
मधेश प्रदेशका नवनियुक्त गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले पदभार ग्रहणसँगै नीति र कार्यदिशा स्पष्ट गर्दै सामाजिक न्याय र सार्वजनिक सुरक्षालाई केन्द्रमा राखेका छन्। मन्त्री महतोले मन्त्रालय सम्हाल्नेबित्तिकै मधेशी सहिदको सम्मानलाई संस्थागत बनाउने र लागुऔषध दुर्व्यसन नियन्त्रणलाई प्रदेशव्यापी अभियानका रूपमा अघि बढाउने निर्णय गरेका हुन्।
उनको पहिलो निर्णयअनुसार मधेशी सहिदहरूको योगदानलाई दीर्घकालीन रूपमा संरक्षण गर्न मधेशी सहिद प्रतिष्ठानसम्बन्धी आवश्यक ऐन निर्माण गरिनेछ। ऐनमार्फत सहिद लक्षित कार्यक्रम, अभिलेखीकरण र सम्मानका कार्यहरूलाई व्यवस्थित बनाइने मन्त्री महतोले बताए। यसले सहिदको बलिदानलाई केवल स्मरणमा सीमित नराखी कानुनी संरचनाभित्र सम्मानित गर्ने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी, बढ्दो लागुऔषध दुर्व्यसनले समाजमा पारिरहेको नकारात्मक असरलाई ध्यानमा राख्दै प्रदेशका आठै जिल्लामा विशेष नियन्त्रण तथा न्यूनीकरण कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय तह, सुरक्षा निकाय, विद्यालय तथा सामाजिक संघसंस्थासँग सहकार्य गर्दै रोकथाम, उपचार र सचेतनालाई जोड दिइने दीर्घकालीन रणनीति बनाइने मन्त्री महतोले जानकारी दिए।
सर्लाही निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य महतो हालै मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा गरिएको मन्त्रिपरिषद् विस्तारमा गृह, सञ्चार तथा कानून मन्त्रालयको जिम्मेवारीमा नियुक्त भएका हुन्।
नेकपा (माओवादी केन्द्र)का तर्फबाट निर्वाचित मन्त्री महतोका प्रारम्भिक निर्णयले प्रदेश सरकारको प्राथमिकता सामाजिक सरोकार र कानूनसम्मत शासनतर्फ उन्मुख रहेको सन्देश दिएको नेकपा सर्लाहीका नेता जितेन्द्र कुशवाहाले बताए ।
No comments:
Post a Comment