Translate

Friday, January 2, 2026

शीतलहरपछि खुलेको घामले राहत सर्लाहीमा जनजीवन पुनः चलायमान

 



मधेशदूत समाचारदाता---
सर्लाही,पुस १८

    लगातार एक सातासम्मको बाक्लो हुस्सु र कठ्याङ्ग्रिने चिसोले घरभित्र थुनिएको सर्लाहीको जनजीवन बिहीबार देखिएको पारिलो घामले केही राहत दिएको छ। शितलहरले गर्दा सामान्य दैनिकीसमेत कठिन बनेको अवस्थामा बिहिवार नयाँ वर्षको पहिलो दिन देखिएको पारिलो घामले सर्वसाधारणहरुलाई केही राहत मिलेको छ।
   शीतलहरको सबैभन्दा ठूलो मार विपन्न, दलित तथा ज्याला मजदुरी गरेर जीवन धान्ने समुदायमा परेको थियो । पर्याप्त न्यानो कपडा र सुरक्षित बासको अभावमा रात काट्नै कठिन भएपछि दिनभर आगो तापेर बस्न बाध्य उनीहरू बिहीबार भने खुला आकाशमुनि घाम ताप्दै गरेको देखिए । मलंगवा नगरपालिका वडा न–८ निवासी नागरिक समाज सर्लाहीका महासचिव  शिवचन्द्र चौधरीले लामो समयपछि दिउँसो घाम ताप्न पाउँदा शरीर मात्र होइन, मन पनि हलुका भएको बताए ।
  घाम नलाग्दा कपडा नसुक्ने, घरभित्रै ओसिलो वातावरण रहने र बालबालिका बिरामी पर्ने समस्या बढ्दै गएको थियो । स्वास्थ्य संस्थाहरूमा चिसोसँग सम्बन्धित बिरामीको चाप बढेको अवस्थामा घाम लाग्नु सकारात्मक संकेत भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।


   चिसोका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पढाइ प्रभावित भएको थियो भने मजदुर वर्ग काममा निस्कन नसक्दा दैनिक आम्दानीसमेत रोकिएको थियो । घाम खुलेसँगै विद्यालय पुनः खुल्ने वातावरण बनेको छ र मजदुरहरू पुनः काम खोज्दै निस्कन थालेका छन् ।
   यद्यपि, शीतलहरले कृषिमा भने क्षति पुर्‍याइसकेको छ । किसानहरूका अनुसार तोरीलगायतका बालीमा कीराको प्रकोप देखिन थालेको छ, जसले आगामी उत्पादनमा असर पार्ने सम्भावना बढाएको छ ।
 घाम केवल मौसमको परिवर्तन मात्र होइन, कठोर चिसोपछि आएको जीवनप्रतिको नयाँ ऊर्जा पनि भएको कबिलासी न.पा-९ ,सलेमपुरका वडाअध्यक्ष दिनेश रायले बताए ।

No comments:

Post a Comment