Translate

Thursday, January 1, 2026

सर्लाहीमा २८ वटा नयाँ मतदान केन्द्र थपिए मतदाता वृद्धि सँगै सुरक्षा निगरानी र मतदान व्यवस्थापनमा जोड

  


मधेशदूत समाचारदाता---

सर्लाही, पुस १८

   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सर्लाही जिल्लामा निर्वाचन तयारीलाई व्यापक बनाइएको छ। मतदाता संख्या उल्लेख्य रूपमा बढेसँगै जिल्लामा मतदान व्यवस्थापनलाई थप सुदृढ बनाउने उद्देश्यले २८ वटा नयाँ मतदान केन्द्र थपिएका छन्।
   जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटक जिल्लामा कूल ६२८ मतदान केन्द्रबाट मतदान हुने भएको छ। अघिल्लो निर्वाचनमा ३१२ मतदानस्थलमा ६०० मतदान केन्द्र सञ्चालन गरिएको थियो। निर्वाचन घोषणा पश्चात् कानून संशोधन गरी मतदाता नामावली संकलन कार्य अगाडि बढाइएपछि २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका हुन्।
नयाँ मतदाता समावेश भएपछि सर्लाहीमा अन्तिम मतदाता संख्या पाँच लाख ११ हजार ६०६ पुगेको छ। तीमध्ये पुरुष मतदाता दुई लाख ७८ हजार ८३७, महिला दुई लाख ३२ हजार ७५८ र अन्य ११ जना रहेका छन्।
   जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले मतदाता वृद्धि भएपछि मतदान केन्द्र थप्नु अपरिहार्य बनेको बताए। उनका अनुसार मतदानस्थलको संख्या भने यथावत् राखी आवश्यक स्थानमा मतदान केन्द्रको संख्या बढाइएको हो। निर्वाचन आयोगको मापदण्डअनुसार एक हजार मतदाता बराबर एक मतदान केन्द्र रहने व्यवस्था भएकाले केही स्थानमा मतदान केन्द्र दोब्बर तथा कतिपय स्थानमा तीनवटासम्म विस्तार गरिएको उनले जानकारी दिए।
   यता, निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन सुरक्षा तयारी पनि तीव्र बनाइएको छ। जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका ३१२ मतदानस्थलमध्ये २३ वटा सामान्य, १३१ वटा संवेदनशील र १५८ वटा अतिसंवेदनशील सूचीमा राखिएका छन्।
   सुरक्षा समितिका पदाधिकारीहरूले विभिन्न पालिकामा पुगेर मतदानस्थलको भौतिक अवस्था, सुरक्षा चुनौती र आवश्यक व्यवस्थाबारे स्थलगत निरीक्षण सुरु गरिसकेका छन्। निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणसँग सुझाव संकलन गर्दै मतदान प्रक्रिया थप प्रभावकारी बनाउने प्रयास भइरहेको जनाइएको छ।
  मतदाता संख्या वृद्धि, मतदान केन्द्र विस्तार र सुरक्षा सतर्कतासँगै सर्लाहीमा यसपटकको प्रतिनिधि सभा निर्वाचनलाई व्यवस्थित र विश्वसनीय बनाउने तयारीमा प्रशासन जुटेको देखिन्छ।

No comments:

Post a Comment