खुटौना मो. अनसार खाँको विषयमा गलत सूचना फैलाइएको भन्दै काँग्रेस सर्लाही क्षेत्र नं. २ आक्रोशित /परिवारवादको विरोध गर्दै केन्द्रको निर्णयको स्वागत
मधेशदुत समाचारदाता----
सर्लाही, पुस १७
नेपाली काँग्रेस सर्लाही क्षेत्र नं. २ ले नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीबाट केन्द्रीय कार्यालयमा पठाइएको पत्रप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गरेको छ। क्षेत्रीय कार्यसमितिले उक्त पत्रमा समानुपातिक बन्दसूचीमा परेका मो. अनसार खाँको विषयमा अनर्गल तथा झुटा विवरण उल्लेख गरिएको भन्दै घोर भर्त्सना गरेको हो।
क्षेत्रीय कार्यसमितिका अनुसार मलंगवा नगरपालिका–६, खुटौना निवासी मो. अनसार खाँ नेपाली नागरिक हुन् र जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नागरिकता प्राप्त गरिसकेका छन्। उनी नेपाली काँग्रेसका क्रियाशील सदस्यसमेत रहेको क्षेत्रीय समितिको दाबी छ। साथै, उनको परिवार लामो समयदेखि नेपाली काँग्रेसप्रति निष्ठावान रहँदै आएको उल्लेख गरिएको छ।
समितिले मो. अनसार खाँका स्वर्गीय बुवा इसराबुल खाँ नेपाली काँग्रेसको टिकटबाट साविक जिल्ला विकास समितिको इलाका सदस्यमा निर्वाचित भई कार्य गरेको, क्षेत्रीय सभापति तथा गाउँ विकास समितिको अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरेको स्मरण गराएको छ। हाल पनि उनका परिवारका सदस्यहरू पार्टीमा सक्रिय रहेको भन्दै एक भाई क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि तथा ट्रेड युनियन काँग्रेसका जिल्ला सभापति रहेको र अर्को भाई वडा सभापति भई स्थानीय तह निर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेको जनाइएको छ।
क्षेत्रीय कार्यसमितिले अल्पसंख्यक समुदायलाई कदर गर्दै मो. अनसार खाँको नाम समानुपातिक बन्दसूचीमा समावेश गरिएकोमा नेपाली काँग्रेस केन्द्रीय कार्यालयप्रति धन्यवाद ज्ञापन गर्दै उक्त निर्णयको स्वागत गरेको छ।
यसैबीच, आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला कार्यसमिति सर्लाहीले क्षेत्रीय समितिको सिफारिस विना एउटै परिवारका सदस्यहरूलाई विभिन्न पदमा सिफारिस गरेको आरोप लगाउँदै क्षेत्रीय समितिले त्यसलाई परिवारवाद र नातावादको नमूना भएको टिप्पणी गरेको छ। यस्तो प्रवृत्तिप्रति घोर भर्त्सना गर्दै आगामी दिनमा पार्टीप्रति निष्ठावान, प्रतिबद्ध र इमानदार कार्यकर्तालाई प्राथमिकता दिन केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराइएको छ।
क्षेत्रीय सभापति कौशल किशोर राय र क्षेत्रीय सचिव राम केवल महतोले संयुक्त हस्ताक्षरित विज्ञप्तिमार्फत भ्रष्टाचार, नातावाद र परिवारवादलाई निरुत्साहित गर्दै पार्टीको मूल मर्मअनुसार निर्णय गर्न आग्रह गरेका छन्।
No comments:
Post a Comment