सामाजिक अभियन्ता रविनको पहलमा गम्हरियामा निशुल्क आँखा शिविर सम्पन्न
मधेशदूत समाचारदाता--
सर्लाही,पुस २७
आर्थिक अभावका कारण आँखाको उपचार गराउन नसकेका सर्वसाधारणलाई लक्षित गर्दै सर्लाहीको मलंगवा नगरपालिकाको गम्हरियामा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।
कबिलासी नगरपालिका–१०, सलेमपुर निवासी सामाजिक अभियन्ता रविन महतोको पहलमा आयोजना गरिएको शिविरमा मलंगवा नगरपालिका वडा न ११ र १२ तथा छिमेकी गाउँ औरहीका स्थानीय गरी ३४५ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ७० जनामा आँखासम्बन्धी समस्या देखिएको छ भने केही बिरामीमा मोतियाबिन्दुको समस्या पनि पाइएको आयोजकले जानकारी दिएका छन्।
शिविरमा संलग्न इन्डो–नेपाल आँखा अस्पताल मलंगवाका चिकित्सक डा. मनोज यादवका अनुसार मोतियाबिन्दु देखिएका बिरामीको सरकारी दरमै शल्यक्रिया गरिनेछ। आँखा जाँच गराएका बिरामीहरुलाई आवश्यकताको आधारमा निशुल्क औषधि र चश्मा पनि वितरण गरिएको आयोजकले जानकारी दिए।
सामाजिक अभियन्ता महतोले धेरै मानिस पैसाको अभावका कारण सामान्य आँखा समस्या हुँदा पनि उपचार गर्न नसक्ने अवस्थाको रहेको बताउँदै समयमै उपचार नहुँदा अन्धोपनको जोखिम बढ्ने भएकाले यस्ता शिविर सञ्चालन गरिएको बताए।
यसअघि पनि महतोको पहलमा कौडेना गाउँपालिका अन्तर्गत फुलपरासी, हरिपुर्वा र पर्सा लगायतका स्थानमा निशुल्क आँखा शिविर सञ्चालन भइसकेको जितेन्द्र महतोले जानकारी दिए।
शिविरमा सहभागी स्थानीयवासीहरूले रविन महतोको सामाजिक योगदानको खुलेर प्रशंसा गर्दै यस्ता सेवा ग्रामीण तथा गरिब समुदायका लागि अत्यन्त उपयोगी भएको बताएका छन्।
आर्थिक रूपमा कमजोर तथा पिछडिएका वर्गलाई लक्षित गरी गरिएको यो पहलले जिल्लामा आँखा स्वास्थ्य सेवाप्रति चेतना बढाउनुका साथै यस्ता शिविरहरूको आवश्यकता अझै रहेको सन्देश दिएको छ।
No comments:
Post a Comment