Translate

Sunday, January 11, 2026

करदाता सेवा कार्यालय सार्ने तयारीप्रति मलंगवाका उद्योगी–व्यापारीको आपत्ति

 



मधेशदूत समाचारदाता---
सर्लाही,पुस २७

     सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा सञ्चालनमा रहेको करदाता सेवा कार्यालय अन्यत्र सार्ने वा बन्द गर्ने तयारी भइरहेको भन्ने सूचनापछि जिल्लाका उद्योगी तथा व्यापारीहरूले गम्भीर आपत्ति जनाएका छन्।
यस विषयमा उद्योग वाणिज्य संघ सर्लाही मलंगवाले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
   ज्ञापनपत्रमा संघका महासचिव सुजय राय र कार्यवाहक अध्यक्ष अरुण कुमार कुंवरले हस्ताक्षर गर्दै जिल्लाका व्यापारीहरूको हक–हितमाथि प्रत्यक्ष असर पर्ने निर्णय तत्काल रोक्न माग गरेका छन्। 
   संघका अनुसार मलंगवास्थित करदाता सेवा कार्यालयबाट करिब २० हजार उद्योगी–व्यापारीले सेवा लिँदै आएका छन् र यही कार्यालयमार्फत राज्यलाई नियमित रूपमा कर तिर्दै आएका छन्। यस्तो महत्वपूर्ण सेवा केन्द्र अन्यत्र सारिँदा वा बन्द गरिँदा व्यापारीहरूलाई अनावश्यक दुःख, पीडा र अतिरिक्त आर्थिक भार पर्न जाने संघको ठहर छ। 
  ज्ञापनपत्रमा मलंगवा नगरपालिका भित्र करदाता सेवा कार्यालयको नाममा पाँच कठाभन्दा बढी जग्गा उपलब्ध रहेको र सोही स्थानमा भवन निर्माणका लागि मधेश प्रदेश सरकारबाट बजेटसमेत विनियोजन भइसकेको उल्लेख गरिएको छ।
   संघले स्थापना कालदेखि नै व्यापारीहरूको पहल र प्रयासबाट सञ्चालनमा आएको कार्यालय यसरी अन्त सार्नु वा बन्द गर्नु उपयुक्त नहुने जनाएको छ। यदि निर्णय तत्काल स्थगन नगरे सेवा ग्राही व्यापारीहरूको हकहित संरक्षणका लागि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि संघले दिएको छ।
   संघले करदाता सेवा कार्यालयलाई यथास्थानमै यथावत् राख्दै शीघ्र आन्तरिक राजस्व कार्यालयको स्थापना गर्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।


No comments:

Post a Comment