सर्लाहीका चारै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिए ३१२ मतदानस्थलमा ६२८ वटा मतदान केन्द्र
मधेशदूत समाचारदाता
सर्लाही, पुस २३
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकेको छ। आयोगले देशभरका सम्पूर्ण निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत नियुक्त गर्ने क्रममा सर्लाहीका चारै क्षेत्रका लागि पनि अधिकृत चयन गरेको हो।
कानुनी व्यवस्थाअनुसार हरेक जिल्लामा जिल्ला अदालतका मुख्य न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ। सोहीअनुसार सर्लाही जिल्ला अदालतका मुख्य न्यायाधीश पुष्पराज थपलियालाई सर्लाहीको मुख्य निर्वाचन अधिकृत तोकिएको छ। थपलियाले निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको जिम्मेवारीसमेत सम्हाल्ने छन्।
यसैगरी निर्वाचन क्षेत्र नं. १ का लागि सर्वोच्च अदालतका इजलास अधिकृत टीकाबहादुर थापा, निर्वाचन क्षेत्र नं. ३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव नवराज आचार्य र निर्वाचन क्षेत्र नं. ४ का लागि सर्वोच्च अदालतका इजलास अधिकृत विनोदप्रसाद घिमिरे निर्वाचन अधिकृत नियुक्त भएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै माघ महिनाको पहिलो साताबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ। अघिल्लो निर्वाचनमा क्षेत्र नं. १ को कार्यालय लालबन्दी, क्षेत्र नं. २ को मलंगवा, क्षेत्र नं. ३ को हरिवन र क्षेत्र नं. ४ को गोडैतामा स्थापना गरिएको थियो। तर यसपटक कार्यालय कहाँ रहने भन्ने विषयमा हालसम्म औपचारिक निर्णय भइसकेको छैन।
निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लामा तयारीका काम तीव्र रूपमा अघि बढिरहेका छन् भने राजनीतिक दलहरू उम्मेदवार छनोट प्रक्रियामा सक्रिय देखिएका छन्।
निर्वाचन आयोगका अनुसार सर्लाहीमा फागुन २१ गते हुने निर्वाचनका लागि कुल ५ लाख ११ हजार ६०६ जना अन्तिम मतदाता कायम भएका छन्। जिल्लाभर ३१२ मतदानस्थलमा ६२८ वटा मतदान केन्द्र निर्धारण भइसकेका छन्।
No comments:
Post a Comment