Translate

Thursday, December 25, 2025

रात्री बसबाट अबैध रुपमा ओसारपसार गर्दै गरेको २४० किलो माछा बरामद /माछाको मूल्य झण्डै एक लाख

 

 
मधेशदूत समाचारदाता----
सर्लाही,पुस १०

   सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कर्मैया चेकपोष्टमा प्रहरीले बिल भर्पाइबिना ओसारपसार गरिँदै गरिएको २४० किलो माछा नियन्त्रणमा लिएको छ।
   मंगलबार साँझ करिब ७ः३० बजे बरहथवाबाट काठमाडौं तर्फ जाँदै गरेको ना.५ ख ६५९२ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँचका क्रममा बसको डिक्कीमा लुकाइछिपाइ राखिएको बरफसहित ६ कार्टुन माछा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रति कार्टुन करिब ४० किलोका दरले जम्मा २४० किलो माछा भेटिए पनि माछासँग सम्बन्धित कुनै पनि कानुनी कागजात तथा बिल भर्पाइ प्रस्तुत गर्न नसकिएपछि ती माछा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको थियो। बसलाई भने आवश्यक प्रक्रिया पूरा गरी गन्तव्यतर्फ जान दिइएको प्रहरीले जानकारी दिएको छ।
     प्रहरीका अनुसार नियन्त्रणमा लिइएका माछा बुधबार दिउँसो मलंगवा क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, बागमती नगरपालिकाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा भद्रभलादमीहरूको रोहबरमा नष्ट गरिएको  छ। बागमती नगरपालिका–११ स्थित बागमती नहरको ढिस्कोमा खाल्डो खनी माछा गाडेर नष्ट गरिएको प्रहरीले जनाएको छ।
   नष्ट गरिएका माछाको अनुमानित मूल्य ९६ हजार रुपैयाँ बराबर रहेको छ। नष्ट गरिएका माछामध्ये ३ कार्टुन (१२० किलो) बच्वा माछा, २ कार्टुन (८० किलो) रोहु माछा र १ कार्टुन (४० किलो) मसिनो माछा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


No comments:

Post a Comment