नवलपुरमा मोटरसाइकलले ठक्कर दिंदा मुसैलीका रामविलासको मृत्यु
मधेशदूत समाचारदाता---
सर्लाही, पुस १०
पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही पुल नजिक मंगलबार मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार बिहान करिब १०ः४५ बजेको समयमा नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको ना ६३ प ५६९४ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्री मलंगवा नगरपालिका–७ मुसैली टोल निवासी ७० वर्षीय रामबिलास महतोलाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई तत्काल उद्धार गरी नवलपुरस्थित भानु अञ्जली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो। टाउकोमा गम्भीर चोट लागेको उनको उपचारका क्रममा मंगलबार दिउँसो करिब १२ः३० बजे वीरगञ्जस्थित न्युरो अस्पतालमा मृत भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा पछाडि सवार मोटरसाइकल चालक लालबन्दी -१७, रानिगंज निवासी ३१ वर्षीय सुनिल भुजेलकि श्रीमती २९ वर्षीया विर्सना माया भुजेललाई सामान्य चोट लागेको र उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक भुजेललाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ। यो समाचार तयार पार्दासम्म मृतकको शव नारायणी अस्पताल वीरगञ्जमा पोष्टमार्टमका लागि राखिएको थियो।
No comments:
Post a Comment