मलंगवामा सम्पन्न निःशुल्क आँखा शिविरमा फेला परेका ७० मोतियाबिन्दु बिरामीको बुधबार शल्यक्रिया हुने
मनोज यादव---
सर्लाही, पुस ६
मलंगवा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शनिबार एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। मलंगवा नगरपालिका वडा नं.–८ स्थित नगरपालिकाको कार्यालय परिसरमा सम्पन्न शिविरमा २८४ जना नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको थियो।
आँखा परीक्षणका क्रममा ७० जना सेवाग्राहीमा मोतियाबिन्दु रोग देखिएको स्वास्थ्य शाखाले जनाएको छ। ती बिरामीहरूको आवश्यक शल्यक्रिया आगामी बुधबार वडा नं.–८ स्थित आँखा उपचार केन्द्रमा गरिने स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए।
शाखा प्रमुख साहका अनुसार शिविरमा आएका बिरामीहरूको आँखाको प्रारम्भिक स्क्रिनिङदेखि औषधि वितरणसम्म सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिएको थियो। मोतियाबिन्दु देखिएका बिरामीहरूको शल्यक्रिया समेत पूर्ण रूपमा निःशुल्क गरिने उनले बताए।
शनिबार दिनभर सञ्चालन भएको उक्त आँखा शिविरको उद्घाटन मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवले गरेका थिए। नगरप्रमुख यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरे, उपसचिव होमनाथ सुवेदी, अधिकृत राम पुकार राय, वडा नं.–१ का वडा अध्यक्ष नवल किशोर यादव, वडा नं.–३ का वडा अध्यक्ष प्रमोद राय यादव, वडा नं.–६ का वडा अध्यक्ष राम कैलाश यादव, वडा नं.–८ का वडा अध्यक्ष मुकेश जयसवाल, मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश मिश्रलगायत विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
शिविर सञ्चालनमा नेपाल नेत्र ज्योति संघ, लहान आँखा तथा कान उपचार प्रणाली अन्तर्गत सगरमाथा चौधरी आँखा अस्पताल लहान तथा सर्लाही आँखा केन्द्र मलंगवाको प्राविधिक सहयोग रहेको थियो। आँखा उपचार केन्द्र मलंगवाका नेत्र विशेषज्ञ निराजन साहसहितको चिकित्सक टोलीले शिविरमा आएका बिरामीहरूलाई सेवा प्रदान गरेका थिए।
शिविरमा सहभागी अधिकांश बिरामीहरू आर्थिक रूपमा विपन्न वर्गका रहेकाले स्थानीय स्तरमै निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पाउँदा उनीहरूले नगरपालिकाको सेवामुखी कार्यको प्रशंसा गर्दै नगरप्रमुख तथा नगरपालिकाप्रति आभार व्यक्त गरेका छन्। यस शिविरबाट मलंगवा नगरपालिका क्षेत्रका स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको स्वास्थ्य शाखा प्रमुख साहले बताएका छन्।
No comments:
Post a Comment