अनुभवमूलक अध्ययनका लागि भाँडसर र खुटौनाका विद्यार्थीहरु द्वारा शैक्षिक भ्रमण सम्पन्न
मधेशदूत समाचारदाता---
सर्लाही, पुस ६
विद्यार्थीहरूलाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिर लैजाँदै व्यवहारिक, सामाजिक तथा सांस्कृतिक ज्ञान प्रदान गर्ने उद्देश्यले लाईफ लाईट कोचिङ्ग सेन्टर, मलंगवा–५,भाँडसर र ब्लू स्काई एकेडेमी, मलंगवा–६, खुटौना द्वारा संयुक्त रूपमा आयोजित शैक्षिक भ्रमण-२०८२ सफलतापूर्वक सम्पन्न भएको छ।
बिहीबार र शुक्रबार सञ्चालन गरिएको उक्त शैक्षिक भ्रमणका क्रममा शिक्षक तथा विद्यार्थीहरूले देशका विभिन्न ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको अवलोकन तथा अध्ययन गरेका थिए। भ्रमण टोलीले हेटौंडास्थित सहिद स्मारक, भरतपुरको CG टेम्पल तथा कास्की जिल्लाको पोखरामा अवस्थित फेवाताल, गुप्तेश्वर महादेव गुफा, महेन्द्र गुफा, चमेरो गुफा र डेभिस फल्स(पातले छाँगो)जस्ता चर्चित पर्यटकीय स्थलहरूको स्थलगत निरीक्षण गरेका थिए ।
भ्रमणका क्रममा विद्यार्थीहरूले नेपालको इतिहास, संस्कृति, धार्मिक आस्था र प्राकृतिक विविधताबारे प्रत्यक्ष अनुभव हासिल गरेका छन्। बाजागाजासहितको मनोरञ्जनात्मक कार्यक्रमले भ्रमणलाई थप रोचक र अविस्मरणीय बनाएको सहभागी विद्यार्थीहरुले बताएका छन् ।
शैक्षिक भ्रमणलाई सफल बनाउन सहयोग गर्ने शिक्षकहरू, सहभागी विद्यार्थीहरूलगायत सम्पूर्ण सहकार्यकर्ता प्रति आयोजक संस्थाले आभार व्यक्त गरेको छ।
लाईफ लाईट कोचिङ्ग सेन्टरका सञ्चालक एवं शिक्षक कामेन्द्र महराले यस्ता शैक्षिक भ्रमणले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
No comments:
Post a Comment