Translate

Sunday, December 21, 2025

सर्लाहीमा एक्कसी बढेको चिसोले शीतलहरको अनुभुति जनजीवन प्रभावित

 



मधेशदूत समाचारदाता
सर्लाही, पुस ६

   सर्लाहीसहित मधेश प्रदेशमा अचानक बढेको चिसोका कारण शीतलहरको प्रभाव तीव्र बन्दै गएको छ । 
  केही दिनअघिसम्म घाम लागेको मौसममा एकाएक परिवर्तन आएपछि तापक्रम घट्दै जाँदा जनजीवन प्रभावित हुन थालेको हो।
शनिबार सर्लाहीको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ । बिहानैदेखि बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दिनभर घाम नलाग्नुले चिसो झनै बढाएको स्थानीयवासीले बताएका छन् । बिहानपख परेको सिमसिम तुषारोले जाडो झन बढाएको छ।
  सदरमुकाम मलंगवासहित लालबन्दी, हरिवन, बयलबास, बरहथवा, कर्मैया र गोडैतालगायत जिल्लाका मुख्य बजार क्षेत्रमा चिसोको प्रभाव स्पष्ट देखिएको छ । कठ्याङ्ग्रिने जाडोका कारण सडक, बजार र सार्वजनिक स्थानमा मानिसको चहलपहल निकै घटेको छ।
   शीतलहरको असर यातायात क्षेत्रमा पनि देखिएको छ । पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा दिनभर बत्ती बालेर सवारी साधन सञ्चालन भइरहेको छ भने गाडीको आवागमन संख्या पनि घटेको छ । चिसोका कारण मलंगवा बजारका पसलहरू सामान्यतया बिहान ८ बजे खुल्ने गरे पनि अहिले १० बजेपछि मात्रै खुल्न थालेका छन्।
   मंसिर–पुस लागेसँगै हरेक वर्ष शीतलहर देखिने गरे पनि यस वर्ष तुलनात्मक रूपमा चाँडै प्रभाव देखिएको छ । गत वर्ष पुस २४ गतेदेखि तापक्रम घट्न थालेको थियो भने यस वर्ष पुस ४ गतेदेखि नै शीतलहरको लक्षण देखा परेको छ।
    चिकित्सकहरूका अनुसार शीतलहरको समयमा शरीरको तापक्रम अत्यधिक घट्दा ‘हाइपोथरमिया’ हुने जोखिम बढ्छ । यससँगै श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण, दम, रुघाखोकी, रक्तचाप वृद्धि र कान दुख्ने जस्ता समस्या देखिन सक्ने बताइएको छ । अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, शरीर न्यानो राख्न तथा झोलिलो र पोषिलो खानपान गर्न चिकित्सकको सुझाव छ।
   जाडोको प्रकोप बढ्दै गएको अवस्थामा स्थानीय तहहरूले सार्वजनिक स्थानमा घुर बाल्ने व्यवस्था, गरिब तथा विपन्न समुदायका लागि न्यानो कपडा वितरणलगायत राहत तथा संरक्षणका कार्यक्रम तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

No comments:

Post a Comment