गोडैताको उखु आगलागी पीडितलाई प्रदेश सरकारबाट क्षतिपूर्तिको आश्वासन पिडित किसान राहतको प्रतिक्षामा
मनोज यादव----
सर्लाही, पुस ६
कटानी गरेर चिनी मिलमा बिक्री गर्ने तयारीमा रहेको उखु आगलागीबाट नष्ट भएपछि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवा क्षेत्रका उखु किसानहरू समस्यामा परेका छन् । आगलागीबाट ठूलो क्षति पुगेपछि पीडित किसानहरूले राहतको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
गत सोमबार दिउँसो अचानक फैलिएको भीषण आगलागीका कारण रोहुवा गाउँमा लगाइएको ५० बिघाभन्दा बढी क्षेत्रफलको उखु जलेर नष्ट भएको थियो । घटनापछि क्षतिग्रस्त उखु खेतको निरीक्षण गर्न पुग्ने जनप्रतिनिधि तथा सरोकारवालासमक्ष किसानहरूले राहत उपलब्ध गराउन आग्रह गरेका छन् ।
उखु किसान तथा गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले आगलागीबाट जलेको उखुमा अझै केही मात्रामा चिनी तत्व बाँकी रहेकाले मूल्य घटाएर भए पनि चिनी मिलले खरिद गरिदिनुपर्ने माग गर्दै निरन्तर पहल भइरहेको जानकारी दिए । उनका अनुसार इन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहसँग जलेको उखु खरिद गरिदिन अनुरोध गरिएको छ ।
इन्दुशंकर चिनी उद्योगले रोहुवा महालक्ष्मी चिनी उद्योगको क्षेत्रभित्र पर्ने जनाउँदै सोही उद्योगसँग समन्वय गर्न किसानलाई आग्रह गरेको नगरप्रमुख यादवले बताए । हाल महालक्ष्मी चिनी उद्योगले यस वर्षको उखु क्रसिङका लागि चलान पत्र वितरण गरिरहेको अवस्थामा आगलागीबाट क्षति भएको उखुको मूल्याङ्कन गरी खरिद गरिदिन आग्रह गरिएको उनको भनाइ छ । साथै, यही पुस महिनामा हुने विशेष नगरसभाबाट पीडित किसानलाई केही राहत दिने तयारीसमेत भइरहेको उनले जानकारी दिए ।
यसैबीच, मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार आगलागी भएको उखु खेतको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा मुख्यमन्त्री यादवले चिनी मिलले केही रकम दिएर जलेको उखु खरिद गरेमा संघीय सरकारले तोकेको समर्थन मूल्यसम्म पुग्न बाँकी रकम प्रदेश सरकारले उपलब्ध गराउने आश्वासन दिए । उनीसँगै प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल राय, प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंह, फकिरा महतो लगायतको पनि उपस्थिति रहेको थियो ।
ठूलो क्षेत्रफलमा उखु जलेको यस घटनाको कारण भने अझै स्पष्ट हुन सकेको छैन । सुरुमा विद्युत् सर्टका कारण आगलागी भएको आशंका गरिएको भए पनि नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रले घटनास्थलको प्राविधिक अध्ययन तथा स्थानीय प्रत्यक्षदर्शीको भनाइका आधारमा विद्युत् लाइनबाट आगलागी नभएको दाबी गरेको छ ।
घटना भएको झण्डै एकसाता हुनै लाग्दा पनि आगलागीबाट कति क्षेत्रफलमा क्षति पुगेको हो भन्ने यकिन विवरण संकलन हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएसपी सरोज राईले घटनाको वास्तविक विवरण संकलन गर्ने कार्य जारी रहेको बताएको छ ।
No comments:
Post a Comment