मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध विद्यार्थीहरुको लागि सचेतना कार्यक्रम
मधेशदूत समाचारदाता---
सर्लाही ,मंसिर २३
३४औं अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा मलंगवा नगरपालिका वडा न–११ स्थित श्री लक्ष्मी जनता माध्यमिक विद्यालय गम्हरियामा सोमबार मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ।
“प्रविधिको प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा कक्षा ८ देखि १० सम्मका छात्र–छात्रालाई मानव बेचबिखन र लैङ्गिक हिंसासम्बन्धी जोखिम, प्रकार र रोकथामका उपायबारे जानकारी गराइएको छ।
आयोजक संस्था आशिष सामाजिक सेवा नेपालको जिल्ला संयोजक संगीता नेपालीले प्रविधिको बढ्दो प्रयोगले बालबालिका र किशोरीहरू सजिलै हिंसाको सिकार बन्न सक्ने भन्दै समयमै सतर्क र सजग रहन आवश्यक रहेको बताइन्। उनले विशेषगरी किशोरी बालिकाहरू मानव बेचबिखनको जोखिममा परिरहेको तथ्यांक उल्लेख गर्दै विद्यार्थीहरूलाई जोखिम पहिचान र बच्ने उपायबारे मार्गदर्शन गरिन्।
कार्यक्रममा ओरेककी दिव्या साहले लैङ्गिक हिंसाका प्रकार, कानुनी व्यवस्था र पीडितले पाउन सक्ने सहयोगबारे जानकारी प्रस्तुत गरिन्। सहभागी विद्यार्थीहरूलाई सचेतना सम्बन्धी पर्चा र स्टिकर पनि वितरण गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका महिला सेलका सत्यनारायण साह, ओरेक प्रतिनिधि, पत्रकार, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू कार्यक्रममा उपस्थित थिए।
आयोजकले, “यस कार्यक्रमले विद्यालय तहमै विद्यार्थीहरूमा मानव बेचबिखन र लैङ्गिक हिंसाबारे सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ।”
No comments:
Post a Comment