पौष १ गतेदेखि बसहरु नयाँ बसपार्कबाट संचालन हुने
म्याजिक, टेम्पु लगायतका साना सवारी संचालनका लागि उपयुक्त स्थान तोक्न नगरपालिकालाई सिडियोले दिए एक हप्ताको समय
मनोज यादव---
सर्लाही, मंसिर २१
प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाको अध्यक्षतामा आइतवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्ति–सुरक्षा, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापनदेखि बसपार्क स्थानान्तरणसम्मका विषयमा महत्वपूर्ण निर्णय गरेको छ।
दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले विशेष गरी मलंगवामा रहेको पुरानो बसपार्क स्थानान्तरण गरी यही पौष १ गतेदेखि मलंगवा -२ स्थित रहेको नयाँ बसपार्कबाट औपचारिक रूपमा यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेको हो। यसका लागि सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा यातायात व्यवसायीबीच समन्वय गरी आवश्यक सहयोग जुटाउने निष्कर्ष निकालिएको छ।
उक्त बैठकमा मलंगवा नगरपालिकालाई एक हप्ताभित्र म्याजिक, टेम्पु लगायतका साना सवारी संचालनका लागि उपयुक्त स्थान तोक्ने र ट्राफिक प्रहरीसँग समन्वय गरी नयाँ रुट निर्धारण गर्ने,सीमा नाका तथा भित्री क्षेत्रहरूमा लागुऔषध नियन्त्रण कडाइ गर्ने, स्थानीय तहदेखि सुरक्षा निकायसम्म सबैलाई सक्रिय भूमिकासहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा बजाइने डिजे तथा माइकको ठूलो ध्वनीले हुने प्रदूषण रोक्न स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाजले आवश्यक कदम चाल्न निर्णय गरिएको छ।
त्यस्तै जिल्लाभित्र गुडिरहेका भारतीय नम्बर प्लेटका सबै सवारी साधनको अभिलेखीकरण गरिने भएकोले यसका लागि सवारीधनीले आ-आफ्नो सवारीसाधनको विवरण प्रहरी प्रशासनलाई उपलब्ध गराउनु पर्ने निर्णयसहित प्रजिअ कडरियाले निर्देशन दिएको छ।
साथै कृषि विकास बैंक मलंगवा शाखाले भवन निर्माणका लागि बसपार्कको जग्गा खाली गरिदिन माग गरेपछि, बैठकले बैंकलाई आफ्नो जग्गामा निर्माण कार्य अगाडि बढाउन सुझाव दिने निर्णय गरेको छ।
No comments:
Post a Comment