सर्लाहीमा नवनियुक्त मन्त्री जंगीलाल रायको भव्य स्वागत
मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर २३
मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्री जंगीलाल रायलाई नेपाली कांग्रेस सर्लाहीले विशेष समारोहमार्फत सम्मान गरेको छ। कविलासी नगरपालिका सलेमपुरका निवासी रायलाई पार्टी जिल्ला कार्यसमितिले सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा सम्मान गरेको हो।
सर्लाही–२ (क) बाट प्रदेशसभा सदस्यका रूपमा निर्वाचित राय आइतवार मन्त्रीमा नियुक्त भएका हुन्। कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमारका अनुसार, मन्त्रालयको जिम्मेवारी आगामी बुधबार मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत हासिल गरेपछि तोकिने सम्भावना रहेको छ।
कार्यक्रममा कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार, निवर्तमान जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, नागेन्द्र कुमार र पूर्वमन्त्री शम्भुलाल श्रेष्ठलगायत नेताहरू सहभागी थिए। सचिव निरज कार्कीले कार्यक्रममा पार्टीका जिल्ला नेताकार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको बताए।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतवार मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका जंगीलाल राय र समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री तथा जनमत पार्टीका महेश यादवलाई अर्थमन्त्री नियुक्त गरेका छन्। राय कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन् र उनले २०७९ मा प्रदेशसभा सभामुख पदका लागि एमालेका रामचन्द्र मण्डलसँग प्रतिस्पर्धा गरेका थिए।
सोही दिन प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले तिनै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
No comments:
Post a Comment