कबिलासीमा १६ दिने अभियानअन्तर्गत प्रविधि–केन्द्रित वक्तृत्वकला प्रतियोगिता सम्पन्न
मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर २३
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कबिलासी नगरपालिका वडा न–७ स्थित मावि गैरमा “प्रविधिको सही प्रयोग गरी लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा उपमेयर पुनम कर्णको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत राज किशोर महतोको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
उक्त प्रतियोगितामा मावि मदनपुर, मावि हेमपुर, मावि सलेमपुर, मावि पिपरिया, मावि गेैर, मावि अर्गवा र मावि सिर्सियाका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रस्तुत प्रतिस्पर्धामा मावि हेमपुर कक्षा–१० की खुशी मल्लिक पहिलो स्थान हासिल गर्न सफल भइन्। त्यसैगरी मावि अर्गवा कक्षा १० की खुश्बु महतो दोस्रो र मावि गैरा कक्षा १० की ऋतु कुमारी महतो तृतीय भइन्। मावि मदनपुरकी छात्रा सिमा कुमारी यादवले सान्त्वना पुरस्कार प्राप्त गरिन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति मावि गैरका अध्यक्ष हरिकान्त लाल कर्ण, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा मलंगवा नगरपालिकाकी प्रमुख नगीना यादव,वडा सदस्य विष्णुकान्त झा,अशोक महतो,महिला मानवअधिकार रक्षक संजालकी अध्यक्ष रम्भा देवी झा, मिडिया काउन्सिल मधेश प्रदेश सदस्य वन्दना झा, रोयम नेपालकी ममता साह, साथै शिक्षक, विद्यार्थी, अभिभावक तथा पत्रकारहरूको उपस्थितिले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।
यसै अवसरमा मानवअधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरुलाई पनि कदरपत्र द्वारा सम्मानित गरिएको थियो।
कार्यक्रमको संचालन शिक्षक सन्तोष कर्णले गरेका थिए।
No comments:
Post a Comment