Translate

Tuesday, December 9, 2025

सीमावर्ती सुरक्षा चुनौतीबारे ध्यानाकर्षण गराउँदै हिन्दू सम्राट नेपालले बुझाए सिडियोलाई ज्ञापनपत्र



मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर २३

   सीमावर्ती क्षेत्रमा हुँदै आएको र हुन सक्ने अवैध आवत–जावत र त्यससँग जोडिएका सुरक्षा संवेदनशीलताप्रति चिन्ता व्यक्त गर्दै हिन्दू सम्राट नेपालले  जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई सोमबार सो ज्ञापनपत्र बुझाइएको हो।
   ज्ञापनपत्रमार्फत सीमामा देखा पर्न सक्ने सम्भावित चुनौतीहरूलाई व्यवस्थित रूपमा समाधान गर्न प्रशासनले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ। सीमाक्षेत्रमा प्रभावकारी सुरक्षा संयन्त्र निर्माण, चेकजाँच प्रक्रियालाई कडाइका साथ लागू गर्ने, आगन्तुक पहिचान तथा दर्ता प्रणालीलाई व्यवस्थित रूपले अनिवार्य बनाउने लगायतका सुझावहरू त्यसमा समेटिएका छन्।
  यसबाहेक बजार, आवासीय क्षेत्र र सार्वजनिक स्थानहरूमा सुरक्षा सतर्कता वृद्धि, CCTV निगरानी विस्तार तथा अनुगमन प्रणाली मजबुत बनाउन प्रशासनलाई आग्रह गरिएको छ। शान्ति–सुरक्षा र कानून–व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सीमावर्ती जोखिमलाई न्यून गराउन वैधानिक कदम चाल्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
  हिन्दू सम्राट नेपालले उचित समन्वय, चुस्त सुरक्षा व्यवस्थापन र जिम्मेवार प्रशासनिक पहलले सम्भावित दुर्घटना, आपराधिक गतिविधि तथा अवैध ओहोर–दोहोरलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

No comments:

Post a Comment