Translate

Tuesday, December 9, 2025

वातावरणीय प्रदूषणका कारण बालबालिकादेखि वृद्ध वृद्धासम्म प्रभावित मलंगवामा अधुरो हुलाकी सडकको कामले समस्या झन् गम्भीर

 


मनोज यादव---

सर्लाही,मंसिर २३

    सर्लाहीको सदरमुकाम मलंगवासहित वरपरका ठाउँहरुमा धुलो–धुँवाको प्रकोप  यतिबेला चरममा पुगेको छ। सडक विस्तारका नाममा भत्काइएका र अधुरै छोडिएका सडकहरू,थ्रेसरले धान काट्ने,  घर–गोठमा घुर बाल्ने यी सबैले वातावरणलाई यति गम्भीर रूपमा प्रदूषित बनाइदिएका छन् कि हरेक उमेर समूहका मानिसमा स्वास्थ्य समस्या झनै बढ्दै गएको छ।
   चिकित्सकका अनुसार यतिबेला अस्पतालमा पुगिरहेका अधिकांश बिरामीहरुमा आँखा पोल्ने,रुघा- खोकी लाग्ने, टाउको दुख्ने, ज्वरो, दम बढ्ने जस्ता लक्षण देखिने गरेका छन् । मौसम परिवर्तनसँगै चिसो बढ्दै गइरहेकाले अवस्था अझ जटिल बन्दै जाने खतरा छ। “धुलो र चिसो दुवैका कारण दम, एलर्जी र श्वासप्रश्वाससम्बन्धी समस्या झन् बढ्ने गर्छ। बालबालिकादेखि वृद्धासम्म सबैले सावधानी अपनाउनैपर्छ,” चिकित्सकहरु भन्छन्।
  सदरमुकाम मलंगवामा त धुलोको समस्या एक प्रतिनिधि दृश्यजस्तै बनेको छ। विशेषगरी मलंगवा नगरपालिका वडा नम्बर–२ भित्र निर्माण भइरहेको हुलाकी सडक अधुरो अवस्थामा वर्षौँदेखि छोडिएको छ। सडक बनाउने नाममा बारम्बार खनिएको तर पूरा नहुने कामले अहिले स्थानीयको दैनिक जीवन कष्टदायी बनेको छ। हल्का हावा चल्यो कि सडक वरपरका घर, पसल, विद्यालय सबैलाई धुलोले सेतो बनाइदिन्छ। बालबालिका हिँडेर विद्यालय पुग्दा नाक–मुख छोपेर हिँड्नुपर्ने बाध्यता छ, वृद्ध–वृद्धाले त बिहानैदेखि खोकीले थाम्न मुस्किल परिरहेको छ।
   सडक छेउमा बस्ने ६५ वर्षीय एक वृद्ध भन्छन्, “सडक बनाउँछन् भने छिटो बनाओस्, तर यस्तो अधुरो कामले हाम्रो जीवन नै नराम्ररी बिग्रिएको छ। घरभित्र बसेको धुलो परेर नै टाउको दुख्न, आँखा पोल्न थाल्छ।” व्यवसायीहरू पनि बिक्रीमा प्रभाव परेको गुनासो गर्छन्। धुलोले सामान बिगार्ने, ग्राहक बस्नसमेत नमान्ने अवस्था छ।
   यता मलंगवा -१० स्थित स्तुति सौम्या हेल्थ केयरका बालस्वास्थ्य विशेषज्ञ डा. गुणेश्वर झाले धुलो–धुँवा बालबालिकाका लागि विशेष खतरनाक रहेको उल्लेख गर्दै अहिले कफ जम्ने, नाकबाट पातलो सिङ्गान बग्ने, ज्वरो आउनेजस्ता समस्या अत्यधिक देखिएको बताए। “बालबालिका बढी संवेदनशील हुन्छन्। धुलो, धुँवा र चिसो मिलेर यतिबेला उनीहरू सबैभन्दा बढी जोखिममा छन्,” डा. झाले चेतावनी दिए।
उनले प्रदूषण बढ्दै गएपछि स्थानीय स्वास्थ्यकर्मीहरूले रुघाखोकी–ज्वरो देखिएको समयमा औषधि पसलबाट जथाभावी औषधि नकिन्न समेत आग्रह गरेका छन्। उचित स्वास्थ्य परीक्षणबिना औषधि सेवन गर्दा रोग थप जटिल बन्न सक्ने उल्लेख गर्दै बिरामी परे तुरुन्त स्वास्थ्य संस्थामा जान डा.झाले सुझाएका छन्।
   तराई–मधेशको मौसम यतिबेला स्वभावतः चिसिँदै छ, त्यसैमा धुलो–धुँवाको मार। अधुरो विकास कार्य, गैरजिम्मेवारीपूर्ण व्यवस्थापन र जनचेतनाको अभाव । यी सबै मिलेर स्वास्थ्य समस्यालाई महामारीसरह बढाइरहेका छन्।
   अहिले एकै आवाज सुनिन्छ 
“सडक पूरा गर, धुलो घटाऊ।”
     जबसम्म स्थानीय निकायले सडक निर्माणका कामलाई दिगो र जिम्मेवार रूपले अघि बढाउँदैन, वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न ठोस पहल गर्दैन, तबसम्म यहाँका बासिन्दाले धुलो–धुँवाबाट उत्पन्न हुने स्वास्थ्य संकटसँग दिन काटिरहनु पर्ने देखिन्छ।

No comments:

Post a Comment