Translate

Tuesday, December 2, 2025

सर्लाहीमा भइरहेको अवैध घुसपैठ र राष्ट्रिय सुरक्षा जोखिम प्रति सिडियोलाई ध्यानाकर्षण गराइयो

 


सिमाक्षेत्रमा निगरानी कडा पर्नुपर्ने बजरंग दलको माग


मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर १७

    राष्ट्रिय बजरंग दल, सर्लाहीले अवैध घुसपैठबाट उत्पन्न राष्ट्रिय सुरक्षा जोखिमबारे जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ध्यानाकर्षण पत्र मार्फत आपतकालीन ध्यानाकर्षण गराएको छ।
   म्यानमार र बङ्गलादेशबाट नेपालमा प्रवेश गर्ने रोहिंग्या लगायतका  समुदायका व्यक्तिहरूको गतिविधि बढ्दै गएको र यसले सामाजिक, धार्मिक सद्भावमा चुनौती सिर्जना गर्ने उल्लेख गर्दै संगठनले प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ध्यानाकर्षण गराएका हुन् ।
   संगठनका उपाध्यक्ष रोहित मिश्रका अनुसार केही जिल्लामा हिन्दू धार्मिक कार्यक्रममा अवरोध हुने र यसले शान्ति सुरक्षामा समेत असर पुर्याउने तथ्यगत प्रमाण देखिएको छ।
    उनका अनुसार हालै भारतमा प्रारम्भ गरिएको विशेष गहण संशोधन अनुसन्धानसँग सम्बन्धित घटनाक्रमबाट उत्पन्न परिस्थितिका कारण म्यानमार र बङ्गलादेशबाट आएर बसोबास गरिरहेका रोहिंग्या लगायतका  समुदायका व्यक्तिहरू नेपालमा अवैध ढङ्गबाट प्रवेश गर्ने गतिविधि बढ्‌दै गएको देखिन्छ।   


    विगत केही वर्षदेखि सर्लाही, सुनसरी, धनुषा, महोतरी, रौतहट, बारा, पर्सा, कपिलवस्तु र बाँके जिल्लामा हिन्दू समाजको धार्मिक कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कार्य हुनेगरेको र त्यसबाट  शान्ति सुरक्षामा प्रत्यक्ष असर पुगि स्थानिय प्रशासनद्वारा कर्फ्यू सम्मको आदेश जारी भई सकेको तथ्यगत गम्भीर अवस्था तर्फ समेत प्रजिअ कडरियालाई ध्यानाकर्षण पत्र मार्फत जानकारी गराइएको छ। 
   संगठनले खुला सीमा, बहुसांस्कृतिक संरचना र भू-राजनीतिक संवेदनशीलता भएको राष्ट्र नेपालमा यस्ता घुसपैठले राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष जोखिम पुर्याउन सक्ने तथ्य सहित सामाजिक र धार्मिक स‌द्भावलाई चुनौतीपूर्ण बनाएर दीर्घकालीन रूपमा जनसाख्यिकीय असन्तुलन समेत उत्पन्न हुनसक्ने गम्भीर अवस्था सिर्जित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै सम्बन्धित सरकारी निकायलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।
   प्रजिअ कडरियालाई बुझाइएको पत्रमा सीमा क्षेत्रमा निगरानी कडा पार्ने, अवैध बसोबास गर्नेहरूको विवरण संकलन गर्ने, र नेपाललाई अवैध अप्रवासनको आश्रयस्थल नबनाउने नीति लागू गर्नुपर्ने निर्देशन समावेश गरिएको छ।


No comments:

Post a Comment