Translate

Tuesday, December 23, 2025

निजी विद्यालयमा क्रिसमस कार्यक्रम रोक्न हिन्दु सम्राट सेनाको चेतावनी, तुलसी पूजन दिवस मनाउन आग्रह

 


मनोज यादव—
सर्लाही, पुस ८

    हिन्दु सम्राट सेना नेपालले सर्लाहीको मलंगवा क्षेत्रका निजी विद्यालयहरूलाई डिसेम्बर २५ मा आयोजना हुने क्रिसमस कार्यक्रम रोक्न कडा चेतावनी दिएको छ। संगठनले हिन्दु विद्यार्थीहरूलाई जबरजस्ती सेन्टाक्लजको पोसाक लगाउने, धार्मिक गतिविधि थोपर्ने र हिन्दु आस्थामा हस्तक्षेप गर्ने कार्य तुरुन्त बन्द गर्न माग गरेको छ।
    संगठनका महासचिव राकेश यादवद्वारा जारी ज्ञापनपत्रमार्फत PABSON, N.PABSON, सगरमाथा बोर्डिङ स्कुल र सेन्ट गेब्रियल्स आधारभूत अंग्रेजी विद्यालयलाई सोमबार ज्ञापनपत्रमार्फत चेतावनी दिइएको छ। ज्ञापनपत्रमा क्रिसमस कार्यक्रमको सट्टा डिसेम्बर २५ लाई हिन्दु परम्पराअनुसार तुलसी पूजन दिवस रूपमा मनाउन निर्देशन दिइएको छ।
ज्ञापनपत्रमा भनिएको छ कि पछिल्ला केही वर्षदेखि विद्यालयमा क्रिसमसजस्ता कार्यक्रमले साना विद्यार्थीहरूमा धार्मिक प्रभाव पार्ने प्रवृत्ति बढेको छ। संगठनले विद्यालयलाई ज्ञान, विज्ञान, नैतिकता र राष्ट्रिय संस्कारको केन्द्र भएको भन्दै विदेशी धर्मको प्रचार वा प्रभाव फैलाउने स्थल नहुने स्पष्ट पारेको छ। संगठनले क्रिसमस कार्यक्रमलाई विदेशी षड्यन्त्रको एक भाग भएको भन्दै निन्दनीय ठहर गरेको छ। यसमा सेन्टाक्लज बनाउने, बनावटी क्रिसमस ट्री सजाउने र विद्यार्थीहरूमा क्रिश्चियन धर्मप्रति आकर्षण बढाउने प्रयास भएको आरोप लगाइएको छ।


   हिन्दु सम्राट सेनाले विद्यालयहरूलाई संवैधानिक धार्मिक तटस्थता पालन गर्दै पाठ्यक्रम आधारित शैक्षिक गतिविधिमा केन्द्रित हुन आग्रह गरेको छ। डिसेम्बर २५ मा क्रिसमसको सट्टा पर्यावरण, स्वास्थ्य र संस्कारमूलक शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको छ। चेतावनी बेवास्ता भए सम्बन्धित विद्यालयमा आफ्ना कार्यकर्ता पठाएर कार्यक्रम रोक्न संगठन बाध्य हुने उल्लेख छ।
   धार्मिक तटस्थता उल्लङ्घन हुने गतिविधि जारी रह्यो भने नेपालको मौलिक धर्म–संस्कृति र विद्यार्थीहरूको भविष्यको रक्षाका लागि कडा कदम चाल्न हिन्दु सम्राट बाध्य हुने महासचिव यादवले निजी विद्यालयका संगठनहरुलाई र कडा चेतावनी दिएको छ ।


No comments:

Post a Comment