चिसोले कठ्यांग्रिँदै जनजीवन, घुर बाल्न दाउराको खोजी जनतालाई स्थानीय सरकारको आस
मनोज यादव—
सर्लाही, पुस ९
सर्लाहीमा जाडो बढ्दै जाँदा सर्वसाधारणको दैनिकी थप कठिन बन्दै गएको छ। बिहान र साँझ बाक्लो कुहिरो लाग्ने, चिसो हावा चल्ने र तापक्रम घट्दै जाँदा जनजीवन प्रभावित भएको छ।
विशेषगरी गरिब, मजदुर, वृद्धवृद्धा र बालबालिका जाडोको मारमा परेका छन्।
जाडो छल्न स्थानीयले टोल–टोल र चोक–चोकमा घुर बाल्न थालेका छन्। बिहानैदेखि साँझसम्म घुर वरिपरि मानिसहरू भेला भएर हात तापिरहेको दृश्य अहिले सामान्य बनेको छ। तर आगो निभ्न नदिन आवश्यक दाउरा भने पर्याप्त छैन, जसका कारण स्थानीय चिन्तित छन्।
मलंगवा नगरपालिका–११ का स्थानीय हरिनारायण साह भन्छन्,“जाडो धेरै छ, आगो बिना बस्नै सकिँदैन। तर दाउरा छैन, रात कटाउने चिन्ता लाग्छ।”
दैनिक मजदुरी गरेर जीवन चलाउनेहरूका लागि जाडो दोहोरो समस्या बनेको छ। आगो नतापी काममा निस्कन सकिँदैन, ढिला हुँदा काम छुट्ने डर हुन्छ। स्थानीय मजदुर रामबाबु राम भन्छन्, “चिसोले हातखुट्टा सुन्निन्छ। घुर तापेपछि मात्र काम गर्न सकिन्छ।”
जाडोको सबैभन्दा ठूलो असर बालबालिका र वृद्धवृद्धामा परेको छ। कतिपय बालबालिका जाडोका कारण बिहानै स्कुल जान नसक्ने अवस्था छ। स्थानीय आमा सीता देवी भन्छिन्,
“बच्चा बिहान उठ्नेबित्तिकै काँप्न थाल्छन्। आगो तापेर मात्र बाहिर निस्कन्छन्।”
कतिपय गाउँमा मानिसहरु खेतबाट ल्याइएको पराल, सुक्खा हाँगा र पुरानो काठ बालेर तापिरहेका छन् । तर यस्ता दाउरा छिट्टै सकिने भएकाले जाडो अझै बढे के गर्ने भन्ने चिन्ता उनीहरूमा बढ्दै गएको छ।
जाडो अझै बढ्ने संकेत देखिँदै गर्दा स्थानीयहरू दाउराको अभाव समाधानको आशामा छन्। अहिले घुर केवल आगो मात्र होइन, कठ्यांग्रिएको जाडोसँग जुध्ने स्थानीयको मुख्य सहारा बनेको छ। यस्तो अवस्थामा स्थानीय सरकारले तुरुन्त पहल गर्नुपर्ने देखिन्छ ।
No comments:
Post a Comment