लालबन्दी–सलेमपुर १३२ केभी आयोजना अन्तिम चरणमा, सर्लाहीका आधा दर्जन पालिकामा विद्युत् संकट अन्त्य हुने आशा
मधेशदूत समाचारदाता—
सर्लाही, पुस १६
सर्लाहीका नागरिकले वर्षौंदेखि भोग्दै आएको कमजोर भोल्टेज र बारम्बार विद्युत् अवरोधको समस्या अब अन्त्य हुने संकेत देखिएको छ। लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तिम चरणमा पुगेसँगै जिल्लाका आधा दर्जन पालिकामा भरपर्दो विद्युत् आपूर्ति हुने अपेक्षा बढेको छ।
चक्रघट्टा गाउँपालिका–१, औरहीमा निर्माणाधीन ग्रिड सबस्टेसन र नवलपुरदेखि औरहीसम्म फैलिएको उच्च भोल्टेज प्रसारण टावरहरूको काम लगभग सकिन लागेको छ। आयोजना पूरा भएपछि चक्रघट्टा, मलङ्गवा, कविलासी, गोडैता र बरहथवा नगरपालिकामा व्यवस्थित र स्थायी विद्युत् प्रवाह हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
हाल यी क्षेत्रमा नवलपुरस्थित ग्रिड सबस्टेसनबाट लामो दूरीमा बिजुली लैजानुपर्दा प्राविधिक समस्या बारम्बार देखिँदै आएको छ। यसको प्रत्यक्ष असर घरेलु उपभोक्ता, साना उद्योग, अस्पताल र व्यवसायमा पर्दै आएको थियो। नयाँ प्रसारण लाइन सञ्चालनमा आएपछि ती समस्या धेरै हदसम्म समाधान हुने विश्वास गरिएको छ।
आयोजनाका सूचना अधिकारी कुनाल चौधरीका अनुसार सबस्टेसनमा वायरिङ तथा बाँकी टावर ठड्याउने काम भइरहेको छ भने अब मुख्य रूपमा तार तान्ने काम मात्र बाँकी छ। २०७६ सालदेखि सुरु गरिएको यो आयोजना २०८३ कात्तिक २९ गतेभित्र सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको छ।
यसैबीच, प्रसारण लाइनको दायाँ–बायाँ नौ मिटर क्षेत्रमा पर्ने जग्गाधनीलाई मुआब्जा दिने निर्णयअनुसार नापी कार्यालयहरूसँग समन्वय गरेर छिट्टै जग्गा नापजाँच सुरु गर्ने तयारी भइरहेको आयोजनाले जनाएको छ।
स्थानीयवासीका अनुसार आयोजना सम्पन्न भएमा सर्लाहीको दक्षिणी र मध्य भेगमा उद्योग, व्यापार र सेवामूलक क्षेत्रको विकासले गति लिनेछ भने नागरिकले गुणस्तरीय विद्युत् सेवा पाउनेछन्।
No comments:
Post a Comment